काठमाडौं- उच्च प्राथमिकतामा राखी अघि बढाइएका करीब तीन दर्जन आयोजनाको प्रगति विवरण सरकारले सार्वजनिक गर्न सकेको छैन। ३१ वटा प्राथमिकतायुक्त आयोजना (पी – वान)को प्रगति विवरण खुल्न नसकेको राष्ट्रिय योजना आयोगले जनाएको छ।
आयोगका अनुसार हाल ‘पी–वान’ कार्यक्रम अन्तर्गत तीन सय ४६ आयोजना सञ्चालित छन्। त्यसमध्ये अधिकांश आयोजनाको प्रगति ८० प्रतिशतभन्दा माथि छ।
पी–वानका कार्यक्रममध्ये गत आर्थिक वर्ष २०७५÷७६ मा दुई सय १८ आयोजनाको प्रगति ८० प्रतिशतभन्दा बढी रहेको आयोगले जनाएको छ। सोही वर्ष ६५ वटा आयोजनाको प्रगति ५० देखि ८० प्रतिशतको बीचमा रहेको आयोगले उल्लेख गरेको छ। ३२ वटा आयोजनाको प्रगति ५० प्रतिशतभन्दा कम छ।
राष्ट्रिय गौरवका आयोजनामा समावेश भएका दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति ५० प्रतिशतभन्दा कम रहेको आयोगले जनाएको छ। आयोगका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति ५० प्रतिशतभन्दा कम छ।
त्यस्तै, ५० देखि ७९ प्रतिशत प्रगति गर्ने राष्ट्रिय गौरवका आयोजनाको संख्या दुई पनि दुई नै छ। १६ वटा आयोजनाले भने ८० प्रतिशतभन्दा बढी प्रगति गरेका छन्। पश्चिम सेती जलविद्युत् आयोजनाको प्रगति भने नखुलेको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।