काठमाडौं– पछिल्लो समय मित्रराष्ट्रका राजदूतहरु सेनाको जंगी अड्डा गएर प्रधानसेनापतिसँग शिष्टाचार भेटवार्ता गर्ने क्रम निक्कै बाक्लिएको छ। सोमबार मात्रै नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापासँग भारतीय राजदूत मञ्जिव सिंह पुरीले जंगी अड्डामै गएर शिष्टचार भेट गरेका छन्।
पुरीका साथै नेपालस्थित जापानका राजदूतले गत बैशाख २४ गते निवर्तमान प्रधानसेनापतिसँग सेनाको मुख्यालयमा नै शिष्टाचार भेटवार्ता भएको थियो। यसैगरी, श्रावण २० गते इण्डो–प्यासिफिक कमान्डका लेफ्टिनेन्ट जेनेरल ब्रायन फेन्टोनले पनि जंगी अड्डामा नै प्रधानसेनापतिसँग भेटवार्ता गरेका थिए। केही समययता नेपालस्थित अन्य विदेशी नियोगका प्रमुखले पनि प्रधानसेनापतिलाई जंगी अड्डामा नै गएर भेट्ने गरेका छन्।
प्रधानसेनापतिसँग भएको भेटघाटको विषयलार्ई सहज रूपमा लिनुपर्ने नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारी बताउँछन्। ‘दुईपक्षीय हितका विषयमा छलफल गर्न प्रधानसेनापतिलाई विदेशी पाहुनाहरु अथवा नेपालस्थित नियोगका प्रमुखहरुले भेटवार्ता गर्ने विषय सामान्य हो’ भण्डारी भन्छन्, ‘यसमा कसले कहाँ प्रधानसेनापतिसँग भेट गर्यो भन्ने विषय गौण हो।’
विगत केही समयदेखि विदेशी नियोगका नेपालस्थित प्रमुखहरु रक्षा मन्त्रीलाई भन्दा प्रधानसेनापतिलाई प्राथमिकता दिँदै आएका छन्। यसरी रक्षा मन्त्रालयलाई नजर–अन्दाज गर्दै विदेशीले सेनापतिसँगको भेटघाट बढाउनुलाई निको मान्दैनन् सुरक्षा मामिलाका जानकार गेजा शर्मा वाग्ले। उनी भन्दछन्, ‘नेपालका सेनाप्रमुखसँग विदेशीले सम्बन्ध विस्तार गर्न खोज्नु र सेनाको मुख्यालयसम्म सजिलै पहुँच बढाउने होडबाजी चल्नु राम्रो कुरा होइन। यसमा सरकार, रक्षा मन्त्रालय र स्वयं जंगी अड्डा पनि चनाखो रहनुपर्छ।’
विदेशी नियोगका प्रमुख वा अन्य पाहुनाले नेपालका सरकारी कर्मचारी, अथवा सार्वजनिक पद धारण गरेका व्यक्तिसँग भेटघाट गर्दा परराष्ट्र मन्त्रालयलाई जानकारी गराउनुपर्ने कूटनीतिक व्यवस्था छ। तर नेपालका सन्दर्भमा त्यो व्यवस्थालाई अवमूल्यन गर्दै भेटघाट हुने गरेको छ।
प्रधानसेनापतिसँग विदेशीले यसअघि गरेका भेटमा होस् वा सोमबार भएको भेटघाटको विषय होस् परराष्ट्र मन्त्रालयको जानकारीमा नरहेको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताए। उनले भने, ‘भेटघाट गर्दा परराष्ट्र मन्त्रालयको पूर्व स्वीकृति लिनुपर्ने कूटनीतिक व्यवस्था भएपनि त्यसको पालना भएको छैन। प्रधानसेनापतिसँग भारतीय राजदूतले सोमबार गरेको भेटघाटमा पनि कूटनीतिक व्यवस्थाको पालना भएको जानकारी छैन।’
भारतीय राजदूत पुरीले सोमबार प्रधानसेनापतिलाई जङ्गी अड्डामा गएर भेट्नु र यसलाई अनावश्यक प्रचारको विषय बनाइँदा भेटवार्तामा नै शंका उब्जिएको वाग्ले बताउँछन्।
भारतको पुणेमा सोमबारदेखि आयोजना भइरहेको बिम्स्टेक संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने औपचारिक घोषणा गरेको तीन दिनपछि सेनाप्रमुख थापा र राजदूत पुरीबीच भेटवार्ता भएको हो। औपचारिक रूपमा संयुक्त सैन्य अभ्यासमा सहभागी नहुने बताइएको भए पनि पर्यवेक्षकको रूपमा भने अभ्यास कार्यक्रमा सहभागी भएको छ। यस्तै थाइल्याड पनि पर्यवेक्षककै हैसियतमा सैन्य अभ्यास कार्यक्रममा सहभागी भएको हो।
उता, भारतीय सञ्चार माध्यमले बिम्स्टेक सैन्य अभ्यासमा नेपालले सहभागी नहुने निर्णय गर्नु र अर्को छिमेकी देश चीनसँग केही दिनमा नै द्विपक्षीय सैन्य अभ्यासमा जाँदा दुई देशको सम्बन्धमा नकारात्मक प्रभाव पर्ने बताएका छन्। नेपाल र चीनका सैनिकबीच सेप्टेम्बर १७ देखि २८ सम्म चीनको छेन्दु सहरमा सैन्य अभ्यास हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।