केही दिनदेखि लगातारजस्तै तीज कार्यक्रममा सहभागी हुने निमन्त्रणा आइरहेको छ। तर, ती कार्यक्रममा स्तरअनुसारको शुल्क पनि निर्धारण गरिएको छ। दुई सयदेखि दुई हजारसम्म शुल्कसहितको निम्ताले म सोचमग्न छु। म तीज पर्व नमान्ने समुदायको मान्छे। तर, एक किसिमको सामीप्य छ यो पर्वसँग । केही स्मृतिहरू जोडिएका छन्। खासमा म यहाँ तीजको विविध धार्मिक आयाम र त्यसको प्रभावबारे बोल्दिनँ। म तीजसम्बन्धी विशेषज्ञ पनि होइन। यहाँ मात्रै तीजको सुन्दरता कसरी मुर्झाएर जाँदै छ भन्नेतिर मात्र केन्द्रित छु।
मलाई स्मरण छ, चालीसको दशकतिर माथि मुजुरधापतिरका महिलाहरू तीजको दिन रातो साडी–चोलोमा सजिएर मादल घन्काउँदै हेटौंडा हुप्रा चौरतर्फ उर्लिएर आउँथे। भदौरे घामपानीको परवाह नगरी बीच-बीचमा घर-घरबाट त्यो हुलमा अरू महिलाहरू पनि मिसिँदै जान्थे र त्यसले विशाल रूप लिन्थ्यो। स्मरण रहोस्, हेटौंडा मिश्रित धर्म संस्कृतिको धरातलमा निर्माण भएको समाज हो।
तीजको बेलामा जानुपर्यो मेलामा
मै छोरीको आँसु खस्यो दैला ठेलामा
यसरी बस्ती–बस्तीबाट भेला भएका महिलाहरू दिनभरि आफ्ना पीडालाई शब्दमा व्यक्त गरेर फुक्काफाल भएर नाँचगानमा मस्त हुन्थे। त्यतिखेर उनीहरूको आँखामा पीडा व्यक्त गर्न पाउँदाको सुखानुभूति आँसुमा रूपान्तरण भएको देखेकी थिएँ। हामी स–साना केटाकेटीहरू दिनभरि त्यही चौरमा बरफ र चटपटे खाँदै उत्सव मनाएको हेरिरहन्थ्याैं। वास्तवमा त्यतिखेरको समाज अध्ययन गर्ने हो भने हिन्दु महिलाहरूले खेप्नुपर्ने बुहार्तन तीजको अवसरमा कम्तीमा एकाध दिनलाई भए पनि कम हुन्थ्यो। महिलाको लागि घर जेलसरह हुन्थ्यो। निरकुंश लोग्नेको सपाट शब्दहरूको ताण्डव सहनुपर्थ्याे।
धेरैजसो जनता कृषिमा आश्रित थिए। उनीहरु ज्याला–मजदुरी गरेर गुजारामुखी जीवन व्यतित गरिरहेका थिए। यस्तोमा महिलाहरूको अवस्था अझ बढी दयनीय थियो। महिलाहरूको सानै उमेरमा विवाह हुने, प्रशस्त केटाकेटी जन्माउनुपर्ने, घरखेत, घाँस दाउरामै जिन्दगी अल्झिरहेको थियो। झनै उच्च शिक्षाको कुरा त परको थियो। माइतीमा रहरलाग्दो समय गुजार्न नपाउँदै पराई घर जानुपर्दाको पीडा के सुनको तिलहरीले पूरा गर्थ्याे र?
यस्तोमा यो पर्वको महत्व हिन्दु महिलाहरूमा उच्च तहमा रहनु अस्वाभाविक थिएन। माइतीबाट चेली लिन आउनु, नयाँ कपडा, मिष्ठान्न भोजन उपलब्ध गराउनुले चेली–माइतीबीचको आत्मीयता प्रगाढ गराउँथ्यो। हामीमा परैबाट तीजको त्यो सौन्दर्य नियाल्दै गर्दा मनमा एक किसिमको आरिस पनि उत्पन्न हुन्थ्यो।
कुनै पनि संस्कृतिको सकारात्मक र नकारात्मक दुवै पाटो हुन्छ । यस्ता संस्कृतिहरू जहिले पनि आर्थिक र राज्यप्रणालीको जगमा निर्माण हुन्छ । साथै संस्कृति सधैं मानिसले आफू अनुकूल निर्माण गरेको हुन्छ । चालिसको दशकको सुरुवाततिर नेपालका महिलाहरू अभाव र आफ्नो वैयक्तिक पीडाहरूलाई गीतको माध्यमबाट तीजमा प्रस्तुत गर्दथे भने यसको अन्त्यतिर आइपुग्दा सामन्तवादको विरुद्धमा, प्रजातन्त्रको पक्षमा क्रान्तिकारी गीतहरू प्रस्तुत गर्न थाले। त्यतिखेर निरकुंशताविरुद्ध त सबै धर्म, संस्कृति, जातिका जनता गोलबद्ध भएकै हुन्।
यसरी तीजको महत्व बढेर गएको अनुभव गरियो। पछिपछि बहुभाषिक, बहुसांस्कृतिक, बहुल मूल्य मान्यताहरूको हाम्रो देशमा तीज नमान्ने समुदाय पनि यो पर्वप्रति आकर्षित भएर गए। यसको दुई कारण छन्। एक सामन्तवाद विरुद्ध यसले आफ्नो क्रान्तिकारी आवाज घन्काउँथ्यो, अर्को राज्यले एकल प्रभुत्व कायम गर्न संस्कृतिलाई राजनीतिक रूप दिएर अगाडि ल्याइदियो। यसै पनि हाम्रो भूगोल सानो छ, त्यसमाथि मिडियादेखि लिएर सारा सञ्जाल यही तीजकै गतिविधिले भरिएको हुन्छ। यसले गर्दा हाम्रा समुदायका महिलाहरू पनि प्रभावित हुन पुग्नु अस्वाभाविक रहेन।
तर, यही पर्व सत्तरीको दशकमा आइपुग्दा सौन्दर्यमा लेपन लगाएर किन भद्दा देखिइरहेको छ? यतातिर हिन्दु समाजले सोच्न जरुरी छ। हामी तीज नमान्ने समुदाय पनि हिजो तीजमा दिनभर तपाईंहरूसँगै गलत समाज व्यवस्था विरुद्धको अभियानमा गोलबद्ध भएर उभिन्थ्यौं। यसले सांस्कृतिक अन्तरघुलन गराएको थियो। तर अहिले किन तीज भन्नेबित्तिकै मनमा आतंक सिर्जना भइरहेको छ?
खै कता गायब भयो तीजको त्यो सौन्दर्य? किन महिलाहरू गरगहना र महँगा साडी प्रदर्शनमा होडबाजी गरिराखेका छन्? किन आपत्तिजनक शब्द संयोजनका गीतहरू घन्किरहेको छ? के महिला मुक्तिको आन्दोलनको उपलब्धि भनेकै राम्रो लाउने, मिठो खाने कामकै निमित्त मात्र थियो? किन राज्यव्यवस्थाको चरम दमनविरुद्ध चर्को आवाज निकाल्दैनन् तीजका महिलाहरू? किन बलात्कारविरुद्ध तिखो स्वर छैन? तीजको सन्दर्भ पारेर आयोजना गरिने कार्यक्रममा किन आर्थिक भार थोपरिन्छ?
यस्तो प्रश्न उठाइरहँदा एकातिर तीज नमनाउने समुदायले किन प्रश्न गर्छन् भनेर भन्नेहरू पनि निस्कनुहोला। तर, राष्ट्रवादको नाउँमा प्रभुत्वशाली धर्मले एकहोरो आफ्नो संस्कृति लादिरहँदा हामीलाई यसबाट अछुत रहन हम्मेहम्मे पर्दो रहेछ। साथीहरू आत्मीय ठानेर तीजको एक महिना अगाडिदेखि नै नाचगान र खानपिनको कार्यक्रम राख्नुहुन्छ । अस्विकार गरौं त ‘अराजक भइछ’ भन्ने आरोप खेप्नुपर्ने, स्वीकार गरौं त यसको भद्दा स्वरूप देखेर वितृष्णाको भाव उत्पन्न हुँदै गएको छ।
पुँजीवादले जकडिएको समाज व्यवस्थामा महिलालाई कसरी मनोरञ्जनको साधनमा रूपान्तरण गरेर लगेको छ? आफ्नो उत्पादनको ग्राहक महिलालाई बनाउन कति कसरत पुँजीवादले गरिरहेको छ? त्यसतर्फ ध्यान नपुर्याउँदा हामी यो अवस्थामा आइपुगेका छौं, भन्ने कुराको मनन कहिले गर्ने?
तीज आफैंमा नराम्रो संस्कार होइन। यसको सांस्कृतिक सौन्दर्यलाई जोगाउँदै परिमार्जनको खाँचो भने अवश्य देखिएको हो। स्वरूप परिवर्तन भयो होला तर, महिलाहरू अझै पनि उत्पीडनमा परिरहेकै छन्। त्यसैले त्यो उत्पीडनको पक्षमा तीजे कार्यक्रम गर्नतर्फ सोच्न सकिन्न र?
महिलाहरूले यो पर्वको आडमा आफ्ना प्रतिभा प्रस्फुटन गराउने खालका कार्यक्रमहरू आयोजना गर्न सक्नुहुन्छ। विभिन्न रचनात्मक कार्यहरू गर्न सक्नुहुन्छ। जसले महिलाको क्षमता अभिवृद्धि गरोस्। जनचेतना जगाओस् । प्राप्त गर्न नसकिएका अधिकारका लागि लड्न ऐक्यबद्ध हुन सिकाओस्। केहीले यसको थालनी गर्नुभएको छ।
बुढानीलकण्ठ वडा नंं २ का महिलाहरूले यही तीजको अवसर पारेर ३ दिने कार्यक्रम राख्नुभयो। जसमा मुलुकी ऐनबारे प्रशिक्षण, वृक्षरोपण र नाचगान जस्ता कार्यक्रम रहे। त्यस्तै सोही नगरपालिका वडा नं १ का महिलाले वडामा रहेको मानव सेवा आश्रमका वृद्धाहरूलाई खाना खुवाउने र सडक छेउ ग्रिन प्लान्टेसन गर्नुका साथै कविता सुन्ने–सुनाउने कार्यक्रम राखेका छन्।
यसले महिलामा भएको प्रतिभा प्रस्फुटनमा सघाउँछ भने नजानेको विषयमा यही बहानामै प्रशिक्षित पनि गर्दछ। यसरी तडकभडक नगरी सिर्जनात्मक कार्यतर्फ अग्रसर भएर कार्यक्रमहरू गर्न सके यसले पक्कै पनि सकारात्मक सन्देश प्रवाह गर्ने थियो। जसले अहिलेको तीजले निर्माण गरिरहेको वितृष्णालाई हटाएर तीजजस्तो महिलाको पर्वलाई सकारात्मक तवरले हेर्ने दृष्टिकोणको निर्माण गर्ने थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।