काठमाडौं – भनिन्छ, खुल्ला आँखाले सपना देख्नेहरु लक्षमा पुग्छन्। यस्तै सपना छ १३ वर्षीया दृष्टि श्रेष्ठको। एसियन पब्लिक स्कुलमा कक्षा ७ मा अध्ययन गर्दै गरेकी दृष्टिले केही दिनअघि सम्पन्न मिस लिटिल आइडल २०१८ मा फर्स्ट रनर अपको ताज पहिरिन सफल भइन्।
प्रतियोगिताको विजेता बन्न नसके पनि उपविजेताको ताज पहिरिन पाउँदा दृष्टिको बाल मस्तिस्कमा खुसीको रङ भरिएको छ। उनी खुसी हुँदै सुनाउँछिन्, ‘फर्स्ट रनर अप ताज पहिरिन पाउँदा भुइँमा खुट्टा नै छैन जस्तो महसुस भइरहेको छ।’
खुसीसँगै उनको भविष्यका लक्ष्य र सपनाहरु पनि फराकिलो बनेका छन्। उनले यही सफलताको आधारमा मिस वर्ल्डको सपना देख्न थालेकी छन्। भन्छिन्,‘मेरो सपना भनेको मिस वर्ल्ड बन्ने हो।’
विद्यालयमा अध्ययनसँगै आर्ट, स्पोर्टस्मा सक्रिय दृष्टिले उपत्यकाका ८ विद्यालयका ५८ प्रतियोगीसँग प्रतिस्पर्धा गर्दै फस्ट रनर अपको ताज पहिरिएकी हुन्।
चर्चित कार्टुनिस्ट वासु क्षितिज र शर्मिला श्रेष्ठकी छोरी हुन् उनी। विद्यालयका शिक्षकहरुको साथ र सहयोगमा आफू सफल भएको भन्दै दृष्टि उनीहरुप्रति ऋणी देखिन्छिन्। उनी अन्य बालबालिकाप्रति उदार बन्दै भन्छिन्, ‘मलाई जस्तै अन्य बालबालिकालाई पनि आफ्नो बुबा, आमा र विद्यालयले साथ सहयोग र हौसला दिएमा उनीहरुले पनि भविष्यको आधार देख्न सक्छन्।'
दृष्टि श्रेष्ठसँगको पूरा कुराकानी भिडियोमा :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।