रसुवा- सरकारबाट प्राप्त पहिलो किस्ताको अनुदान लिएर पनि यहाँका कतिपय भूकम्पपीडितले घर निर्माण सुरु नगरेको पाइएको छ। जिल्लाको पाँच वटा स्थानीय तहमा पहिलो किस्ता लिएका करिब ८ प्रतिशतले घर निर्माण सुरु नगरेको हुन्। उनीहरुले अनुदानबापत पाउने तीन लाख रुपैयाँमध्ये पहिलो किस्ताको ५० हजार रुपैयाँ बुझिसकेका छन्।
जिल्लामा १२ हजार ४ सय ९० जना लाभग्राही छन्। तीमध्ये ११ हजार २ सय २३ ले पहिलो किस्ता बापतको रकम बुझिसकेका छन् भने १० हजार ९२ ले दोस्रो किस्ता र ७ हजार ७ सय ३९ ले तेस्रो किस्ता बुझिसकेका छन्। २०७२ बैसाखको भूकम्पले पूर्ण क्षति भएका घरको पुनर्निर्माण गर्न करिब ६२ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता बुझेका छन्।
जसमा पहिलो किस्ता बुझेका रसुवाका ८ सय ३४ जनाले घर निर्माण सुरु नगरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रसुवाले जनाएको छ। जिल्लाको कालिका गाउँपालिकामा ८४, गोसाइँकुण्डमा १ सय १३, नौकुण्ड १ सय ७७, उत्तरगयामा ३ सय १५ र आमाछोदिङ्मोमा १ सय ४५ पीडितले घर निर्माण सुरु नगरेको पाइएको हो।
घर नबनाउनेले रकम फिर्ता गर्नुपर्ने
प्राधिकरणले लाभग्राही सूचीमा परी पहिलो किस्ता बुझेकाहरुलाई असार मसान्तसम्म पुनर्निर्माण गर्न म्याद तोके पनि घर निर्माण नगर्ने लाभग्राहीले पहिलो किस्ता रकम फिर्ता गर्नुपर्ने भएको छ। स्थानीय निकायले आफ्नो क्षेत्रभित्र रहेका लाभग्राहीलाई सूचना टाँस गरी रकम फिर्ता गर्न अनुरोध गरेपछि उनीहरुले रकम फिर्ता गर्नुपर्ने भएको हो।
घर निर्माण गर्न नचाहाने लाभग्राहीले रकम फिर्ता गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले पहिलो किस्ता बापतको रकम लिई घर निर्माण नगरेका लाभग्राहीलाई अनुरोध गरेको छ। त्यस्तै जिल्लाका पाँचवटै स्थानीय तहले तत्काल घर निर्माण गर्नका लागि अहिले सूचित गरेका छन्।
गैरसरकारी संस्थाले बनाए ८ सय २७ घर
जिल्लामा पछिल्लो समय पुनर्निर्माणले गति लिएको छ। घर निर्माणले गति लिएसँगै भूकम्पपीडित निर्माण सामग्री जुटाउन व्यस्त देखिन्छन्। जिल्लामा विनाशकारी भूकम्पपश्चात् पुनर्निर्माणका लागि खटिएका गैरसरकारी संस्थाको सहयोगमा ८ सय २७ घर निर्माण सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटीको सहयोगमा ३ सय ४३, लुथरनको सहयोगमा ९१, लुमन्थीको सहयोगमा २ सय ३५, बतासको सहयोगमा १ सय ५२ र ओएम नेपालको सहयोगमा ६ वटा घर निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रसुवाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।