रसुवा- एक महिनादेखि अवरुद्ध रसुवागढी भन्सारको काम सोमबारबाट सुचारु भएको छ। बाढी र पहिरोको कारण क्षति पुगेको सडक मर्मत पश्चात् सवारी आवागमन सुचारु भएसँगै भन्सारको काम पनि सुचारु भएको हो।
सोमबारदेखि राजश्व संकलन नियमित भएको रसुवागडी भन्सार कार्यालयका प्रमुख गोपाल कोइरालाले बताए। ‘सडक अवरुद्ध भएसँगै आइतबारसम्म संकलन गरिएको राजश्व नियमित किसिमको होइन्, सोमबारदेखि भने भन्सार नियमित भएको छ,’ उनले भने।
रसुवागढी भन्सार कार्यालयले भदौ महिनामा १० करोड राजश्व संकलन गरेको छ। सामान्य अवस्थामा दैनिक दुई करोडसम्म राजश्व संकलन भइरहने भन्सार नियमित भएपछि दैनिक ७ करोडसम्म संकलन हुने बताइएको छ। भन्सार प्रमुख कोइरालाले भने, ‘लामो समय बन्द भन्सार सामग्री ओसारपसार सुरु पछि राजश्व बढ्ने गर्छ।’
चाडपर्वको समय नजिकिएसँगै चाडपर्वलाई लक्षित सामग्री आयात गर्न सुरु भएको छ। विशेषगरी तीज, दशैँ, तिहारका लागि आवश्यक पर्ने सामग्री आयात सुरु भएको कोइरालाको भनाइ छ।
सवारी सञ्चालन सुरु भएपछि चीनको केरूङबाट नेपाल आएका व्यापारी तथा व्यावसायी केरुङ फर्किसकेका छन्। सडक अवरुद्ध भएपछि करिव एक महिना राजश्व संकलन प्रभावित बनेको थियो।
तातोपानी नाका बन्द भए पछि रसुवागढी नाकाबाट निकासी, पैठारी बढेसंगै भन्सार असुली पनि बढेको हो। कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्त शुल्क भ्याट लगायतका शुल्कवापत् भन्सार असुली गर्ने गर्दछ । अहिले केरुङबाट नेपालतर्फ रेडिमेड कपडा, कम्मल, घडी, जुत्ता, चप्पल, स्याउ, विद्युतीय मोटरसाईकल र इलेक्ट्रोनिक लगायतका सामाग्रीहरु भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामाग्री निर्यात हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।