काभ्रे- काभ्रेको पाँचखाल नगरपालिका वडा नं १२ मा शुक्रबार दर खाएर ४ सय ४५ जना बिरामी परेका छन्। पछिल्लो जानकारी अनुसार दर खाएर बिरामी परेका १ सय २८ जना अस्पतालमा भर्ना भएका छन् भने बाँकी उपचार गरी घर फर्किएका छन्।
अस्पतालमा उपचाररत बिरामीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई आइसियूमा राखी उपचार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविराज खड्काले जानकारी दिए। बिरामीलाई धुलिखेल, बनेपा र काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराइरहेको एसपी खड्काले बताए।
खड्काका अनुसार शिर मेमोरियल अस्पतालमा ६३, बनेपा हस्पिटलमा ४, धुलिखेल अस्पतालमा ५२, कान्ति अस्पतालमा ४ र पाटन अस्पतालमा ९ जना उपचाररत छन्। अस्पतालमा उपचार गरेर फर्किएका केही पुनः बिरामी भएको हुँदा बिरामी उपचार गराउनेको संख्या घटबढ भइरहेको नेकपाका नेता एवं पाँचखालका समाजसेवी कञ्चन अधिकारीले बताए।
अधिकारीका अनुसार उपचारको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोरेको छ।
कसरी भयो घटना?
शुक्रबारको दिन। पाँचखाल नगरपालिका वडा नं १२ मा तीजको दर खाने कार्यक्रम कासकोटेस्थित ग्रामीण स्वाबलम्बन बहुदेश्यीय सहकारी संस्थाले आयोजना गरेको थियो। कार्यक्रममा ५ सय ९० जना सहभागी थिए।
सहभागीहरू पाँचखाल नगरपालिका वडा नं ४,७,९,१०,११ र १२बाट सहकारीमा आबद्ध सदस्यहरू रहेका थिए। सहभागी मध्ये ५ सय जनाले दर खाएका थिए। दरमा केराउ, आलु, अचार, पनिर र मिक्स अचार बनाइएको थियो।
इनारको पानी पिउने पानीको रुपमा प्रयोग गरिएको थियो। दर खाएर सबैजना आफ्ना आफ्ना घर लागे। त्यसको केही घण्टापश्चात दर खानेजति सबैलाई बान्ता हुने, पेट दुख्ने, टाउको दुख्ने लगायतको समस्या भयो। अचानक समस्या बढेपछि कोही बेहोस समेत हुन थाले। एकाएक बिरामीको संख्या बढ्न थाले।
दर खाएका मध्ये करीब ४ सय ४५ जना सिकिस्त भएपछि प्रहरीको सहयाेगमा सबै बिरामीलाई उद्धार गरी अस्पताल लगियो।
बनेपा र धुलिखेलमा भएका अस्पतालका सम्पूर्ण शैया भरिएपछि केही बिरामीलाई बाहिर राखेर उपचार गरिएको उद्धारमा संलग्न स्थानीय एक युवाले बताए।
पानीमा विषादी मिसिएको आशंका
दर खाने क्रममा इनारको पानी प्रयोग गरिएको हुँदा इनारमा विषादी मिसिएको आशंका स्थानीयले गरेका छन्। अस्पतालको रिपोर्टमा भने खाद्यन्नमा नै समस्या देखिएको उल्लेख छ। तर आधिकारीक रिपोर्ट आउन बाँकी रहेको समाजसेवी अधिकारीले बताए।
सहकारीले खाद्यन्न बनेपाको स्थानीय पसलबाट ल्याइएको थियो। पसलमा रहेको खाद्यन्न र प्रयोग भइरहेको पानीको समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। खानामा प्रयोग भएका आइटम ल्याब टेस्टमा लगेर परीक्षण गरिँदै छ।
यद्यपी, आधिकारीक रिपोर्ट भने सोमबार मात्र आउने बताइएको छ।
उपचारको समन्वयमा पहल
समाजसेवी एवं नेकपाका नेता अधिकारी उद्धारमा सक्रिय रुपमा खटिरहेका छन्।
घटनापश्चात् नै विभिन्न अस्पताल,जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, मन्त्रालयको स्वास्थ्य विभाग र गृहमन्त्रालयमा समेत उनले समन्वय गरिरहेका छन्। ‘जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, स्वास्थ्य विभाग र गृहमन्त्रालयमा समन्वय गरेपश्चात् बिरामीको उपचार सरकारले नै निःशुल्क गराउने भयो।’ अधिकारीले बताए।
उनका अनुसार स्वास्थ्यमा सुधार नभएका बिरामीहरूलाई काठमाडौं रिफर गरिने भएको छ। सरकारले काठमाडौंका सबै सरकारी अस्पताललाई सोमबार बेड खाली राख्ने निर्देशन दिएको छ। त्यसैगरी घटना भएपश्चात नगरका मेयर लगायत सबै जनप्रतिनिधि सक्रिय रुपमा उद्दारमा लागेका अधिकारीले बताए।
गाउँमा असुरक्षा, स्थानीय युवाको परिचालन
घटनामा बिरामी पर्नेहरू धेरैजसाे वडा नं १२ का रहेका छन्। बिरामीको संख्या धेरै भएपछि बिरामीसँगै कुरुवा पनि अस्पताल गएकाले गाउँ शून्य भएको छ।
गाउँमा चोरी हुने सम्भावना बढेपछि स्थानिय युवा सक्रिय भई सुरक्षामा खटेका छन्। बेलुकीको समयमा गाउँमा अर्को आपराधिक घटना हुन नदिन विशेष सुरक्षाको पहल गरिएको वडा अध्यक्ष गोपाल दनुवारले बताए। ‘हामी हिजो बिहानदेखि नै उद्धारमा खटेका थियौँ। बेलुकी युवाहरू परिचालन गरेर सुरक्षाको काममा लाग्यौँ, घरमा गस्ती गर्ने काम गरिरहेका छौं’ उनले भने।
पाँचखाल नगरपालिकामा आयोजना गरिएका तीज विशेष दर खाने सबै कार्यक्रमहरू स्थगित गरिएको वडा अध्यक्ष दनुवारले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।