काठमाडाैं- ९१औं अस्कर अवार्डमा प्रतिस्पर्धाका लागि फिल्म आह्वान गरिएकाे छ। नेपालस्थित विदेशी भाषी चलचित्र छनोट समितिले प्रेस विज्ञप्ति जारी गर्दै अस्कर अवार्डका लागि फिल्मको माग गरेको हो। विमल पौडेल अध्यक्ष रहेको नेपालको छनोट समितिले फिल्म पठाउन चाहने निर्माता/निर्देशकलाई सचिवालयमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘अस्करमा विदेशी भाषी चलचित्र विधामा सहभागी गराउन ‘विदेशी भाषी चलचित्र छनोट समिति (नेपाल)’लाई एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट चलचित्र छनोट गरी सो प्रतियोगितामा प्रतिस्पर्धी चलचित्रका रूपमा सिफारिस गरी जानकारी गराउन उक्त संस्थाबाट अनुरोध पत्र प्राप्त भएकाले ९१औं अस्कर अवार्ड प्रतियोगितामा सामेल हुन चाहने सबै नेपाली चलचित्र निर्देशक र निर्माताहरूलाई आफ्नो चलचित्र २०१८ सेप्टेम्बर १४ तारिख अर्थात् मिति २०७५ भदौ २९ गते शुक्रबार दिनको ०१ः०० बजेभित्र यस समितिको सचिवालयमा दर्ता गराउनु हुन आह्वान गर्दछ।’
प्रतिस्पर्धामा भाग लिन चाहेको चलचित्र सन् २०१७ अक्टोबर १ तारिख अर्थात् २०७४ असोज १५ गतेभन्दा पछि तथा २०७५ साल असोज १४ (सन् २०१८ सेप्टेम्बर ३०) गतेभन्दा पहिले नै सार्वजनिक प्रदर्शन गरिएको हुनु पर्नेछ।
त्यसैगरी, इच्छुक फिल्मकर्मीले अन्य प्रावधानसँगै चलचित्र प्रदर्शन गराउँदा उक्त चलचित्र सात दिनभन्दा बढी चलचित्र घरमा सार्वजनिक प्रदर्शन भएको प्रमाणित गर्ने समाचार तथा सञ्चार माध्यमहरूमा छापिएका विज्ञापनका कटिङहरू लगायतका सम्पूर्ण विवरणहरूको डिजिटल कपीमा समेत उपलब्ध गराउनु पर्नेछ।
द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसद्वारा सन् २०१९ फेब्रुअरी २४ तारिख आइतबारका दिन अमेरिकाको लसएन्जेलसको डल्बी थिएटरमा ९१औं एकेडेमी अवार्डस् (द अस्कर अवार्ड) वितरण गरिनेछ।
प्रेस विज्ञप्ति:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।