एजेन्सी– चर्चित बलिउड अभिनेत्री कंगना रनौत विवादमा परिरहने सेलिबे्रटी हुन्। सन् २००६ मा ‘ग्याङस्टार’ बाट फिल्ममा डेब्यू गरेकी कंगना ‘सिमरन’ सम्म आइपुग्दा थुप्रै पटक विवादमा तानिइन् ।
निर्माणाधीन फिल्म ‘मणिकर्णिका– द क्विन अफ झाँसी’ को विवादले त यतिबेला कंगनाको करिअरमाथि नै प्रश्न उठाउन थालिएको छ । ‘मणिकर्णिका’ मा कंगनाले मुख्य अभिनेत्रीको भूमिका निभाइरहेकी छिन् ।
सो फिल्मको छायांकनको समयबाट एकै पटक धेरैवटा विवाद उत्पन्न भएपछि निर्देशक कृष र अभिनेता सोनु सूद फिल्मबाटै बाहिरिएका छन् । निर्देशक र अभिनेताले हातै झिक्नुपर्ने अवस्था आउनुको मुख्य कारण अभिनेत्री कंगना रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
निर्देशक कृषले फिल्म छोडेपछि कंगना आफैं निर्देशन गर्न आइन् । तर, फिल्म निर्देशनको जिम्मेवारी लिएपछि कंगनाले आफ्नो भूमिका छोट्याइदिएको भन्दै अभिनेता सोनुले पनि फिल्म छाडेका थिए ।
बलिउडमा कंगनाका कारण उब्जिएका विवाद यतिले मात्र सकिंदैन। ‘बलिउडका तीन खान– सलमान, शाहरुख र आमिरको सिने उद्योगमा आवश्यकता छैन’, भन्ने प्रतिक्रिया दिएर उनी यसअघि पनि विवादमा तानिएकी थिइन्। कुनै स्टार कलाकारसँग उभिएर लोकप्रियता बढाउने इच्छा आफूमा नभएको दावी थियो उनको त्यतिबेला। यस्तै कंगनाले अर्का चर्चित फिल्ममेकर करण जौहरसँग पनि सम्बन्ध धमिल्याइसकेकी छन्।
कंगनाले बलिउडमा देखाइरहेको यस्तो व्यवहारले उनको करियरमा ठूलो असर पर्ने चर्चा भारतीय फिल्म बजारमा चल्न थालेको छ। कंगनाको यस्तो व्यवहारप्रति भारतीय फिल्म विश्लेषक अर्नब बेनर्जीले भनेका छन्, ‘यदि कंगनाले यसरी नै दुश्मन बढाउँदै जाने हो भने उनी एकदिन अभिनय क्षेत्रमा एक्लिने छिन्।’
केही सिनेकर्मीले कंगनाको फिल्म करिअरबारे चिन्ता गरे पनि उनलाई कामको कमी भने छैन। उनका हातमा अहिले पनि ३–४ वटा फिल्म पाइपलाइनमा छन्। तर, विश्लेषक बेनर्जी भन्छन्, ‘फिल्म निर्माण भनेको टिमवर्क हो। यदि टिमवर्कमा कसैबाट गल्ती भएमा त्यसको असर सिंगो टिम र काममा पर्न जान्छ। र, गल्ती गर्नेलाई जुनसुकै बेला टिमले इन्कार गरिदिन पनि सक्छ।’
फिल्म उद्योगमा कंगनाको विवादबारे बहस चलिरहेका बेला भारतीय फिल्म निर्माता रमेश तौरानी भन्छन्, ‘विवादका विषयले फिल्मका लागि कलाकार चयनमा कुनै असर पर्दैन। यदि कोही कालकारले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्न सक्छ भने उसको स्टारडम र परिचय नै छनोटको आधार बन्छ।’
भारतीय स्टारकास्ट र फिल्ममेकरका सम्बन्धमा कुनै नामको किटान नगरी अर्का फिल्म विश्लेषक अजय ब्रह्मात्मज भन्छन्, ‘उद्योगमा दुई तरिकाका फिल्मकर्मीहरु छन्। एक तरिकाका फिल्मकर्मी जो गुटबन्दीमा रमाइरहेका हुन्छन्। उनीहरु आवरणमा परिवार जस्तै देखिन्छन्। उनीहरु एकै घरमा बस्छन् तर एउटै घरका दुई अलगअलग ढोकाको प्रयोग गरिरहेका छन्।’
मणिकर्णिको विवादले कंगनाको भविष्य धरापमा परिरहेको चर्चा चलिरहँदा फिल्म विश्लेषक ब्रह्मात्मज भन्छन्, ‘कंगनाको जीवनमा फिल्म ‘मणिकर्णिका’ महत्वपूर्ण प्रोजेक्ट हो। यदि फिल्म मणिकर्णिका असफल भएको खण्डमा कंगना असफल सावित हुन्छिन्। तर, कुनै पनि स्टारको फिल्म हिट र फ्लप हुनु अस्वभाविक भने होइन। त्यसैले कंगनाको अभिनय यात्रा धरापमा छ भन्नु अहिलेलाई सान्दर्भिक हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।