काठमाडौं- सधैंजसो नाटक र अन्य साहित्यिक कार्यक्रमले भरिभाराउ हुने सर्वनाम शनिबार भक्ति संगीतले गुञ्जयमान भयो। चितवनबाट आराधना २ का लागि राजधानी आइपुगेका मनिष सापकोटाले करिब एक दर्जन कलाकारका साथमा एक दर्जन गीतको प्रस्तुति दिए।
जय गणरायबाट सुसुरु गरेको आराधनामा आपत सारा हट्नेछ, नन्दलाल, ओम जय जगदिश हरे लगायतका भजनहरु प्रस्तुत भएका थिए। पहिलो प्रस्तुतिबाट नै दर्शकको उल्लेख्य सहभागिता र सकारात्मक प्रतिक्रियाले यसको औचित्य पुष्टि भएको बताउँदै डा सावित्री मल्लले कार्यक्रमको सुरुवात गरेकी हुन्।
'धार्मिकता र आध्यात्मिकता फरक पाटो भएकाले हामीले धार्मिकतालाई ज्यादा प्राथमिकतामा राख्यौं। आध्यात्मिकतालाई पाखा लगायौं,' कार्यक्रममा सर्वनामका संस्थापक अशेष मल्लले भने, 'अब हामीलाई आध्यात्मिक जागरणका लागि यस्ता प्रकारको कार्यक्रम जरुरी छ।'
करिब दुई घन्टा चलेको कार्यक्रममा सापकोटालाई गायनमा सीता सुवेदी मनुका कुँवर, मीना नेपाली, तारा लिम्बूले साथ दिएका थिए। त्यस्तै तबलामा लक्ष्मी डंगोल, गितारमा जिके सिंह, बाँसुरीमा डा निरञ्जन भण्डारी, किबोर्डमा ब्रुनो तामाङ, अक्टोप्याडमा तेजकुमार श्रेष्ठ, ढोलकमा सुधीर चौधरी, मादलमा सुनिल अर्याल लगायतले साथ दिएका थिए।
कार्यक्रममा संगीतकार बुलु मुकारुङ, दीपक जंगम, राजु सिंह, रमण घिमिरे, किरण प्रधान लगायतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।