बुटवल- पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र प्रेसमाथि हस्तक्षेप हुन नदिने बताएका छन्। स्वतन्त्र प्रेसकै कारण मुलुक संघीय संरचनामा पुगेको बताउँदै सभापति देउवाले कसैले चाहँदैमा स्वतन्त्र प्रेसमाथि हस्तक्षेप गर्न नदिईने चेतावनी दिए।
उनले पार्टीगत आस्थाभन्दा माथि उठेर पत्रकारिता गर्न सुझाव दिंदै नेपाली कांग्रेस संधै प्रेस स्वतन्त्रको पक्षमा उभिने स्पष्ट पारे। बुटवलको बुद्ध सामुदायिक टेलिभिजनको एघारौं वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री देउवाले प्रदेश ५का संचारमाध्यमले बुद्धदर्शन र बुद्धशिक्षालाई प्रचार गर्न सुझाव दिए।
सभापति देउवाले मुलुकमा शान्ति र स्थिरताका लागि बौद्धदर्शनको प्रचारप्रसारका साथै बुद्धको जन्मस्थल लुम्बिनीको विश्वव्यापी प्रचारप्रसारका लागि मिडियाले महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताए।
कार्यक्रममा बोल्दै कांग्रेसका प्रम्ुख सचेतक बालकृष्ण खाँणले प्रदेश ५ को राजधानी बुटवलबाट अन्यत्र सार्न कसैले नसक्ने बताए।
भैरहवामा निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थल, बुद्धको जन्मस्थल प्रशस्त भौतिक पूर्वाधारका कारण प्रदेशको स्थायी राजधानीका लागि बुटवल नै उपयुक्त भएको खाँडको तर्क छ। खाँणले वर्तमान सरकारबाट स्वतन्त्र प्रेसमाथि प्रहार भइरहेको बताउँंदै उनले सरकारको आलोचना र विरोधमा समाचार लेखेका भरमा, अन्तर्वार्ता लिएका आधारमा पत्रकारलाई जागिरबाट निकालिएकोमा आपत्ति जनाए।
स्वतन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड भएकाले कांग्रेसले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि काम र निर्णय हुन नदिने बताए। कार्यक्रममा प्रतिनिधि सभा सदस्य भरतकुमार शाहले वर्तमान सरकारले हरेक क्षेत्रमा चर्को कर लगाएर नागरिकलाई मर्कामा पारेको बताए।
सो अवसरमा नेकपा प्रदेश संसदीय बोर्डका सचिव भोजप्रसाद श्रेष्ठले बुटवललाई प्रदेश ५ को अस्थायी राजधानी तोकेकोमा धन्यवाद दिए। उनले प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट अन्यत्र लैजान खोजिए विगतको जस्तै सशक्त आन्दोलन चर्किने चेतावनी दिए। प्रदेश ५ को सिमाकंनमा पहाडका जिल्लालाई नराखिएपछि बुटवलमा आन्दोलन चर्केको थियो।
कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारीले वर्तमान सत्ता बाँदरका हातमा पुगेको आरोप लगाउँदै चुड्किला र उखानमा रमाएर विचार नपु¥याई भोट हाल्दा जनता अहिले करको मारमा परेको बताए।
कार्यक्रममा कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल लगायतले आआफ्ना धारणा राखेका थिए। टेलिभिजनले बांकेका अग्रज पत्रकार पन्नालाल गुप्ता, बुटवलका साहित्यकार जंग बहादुर शाह, गायिका मना छन्तेल र लन टेनिस प्रशिक्षक विकास खड्कालाई नगदसहित सम्मान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।