काठमाडौं- भ्रष्टाचारविरुद्ध सदाचारको सन्देश बोकेको फिल्म ‘सयकडा दस’को प्रदर्शन मिति तय भएको छ। मानोज गजुरेल अभिनित सामाजिक कथावस्तुमा तयार गरिएकाे उक्त फिल्म माघ १८ गतेबाट प्रदर्शनमा आउने भएको हो।
शनिबार ललितपुर हात्तीवनमा आयोजित एक कार्यक्रमका बीच फिल्म युनिटले प्रदर्शन मितिबारे जानकारी गराएको हो। कार्यक्रममा बोल्दै फिल्म सयकडा दसबाट ठूलो पर्दामा डेब्यु गरेका चर्चित हास्य कलाकार मनोज गजुरेलले सामाजिक र सांस्कृतिक सन्देश बोकेको कथा फिल्ममा पाएकाले अभिनयका लागि तयार भएको सुनाए। गजुरेलले भने, ‘मैले फिल्मको कथावस्तुमा समाज परिवर्तनको आधार देखेकाे छु। बागमती सफाइ अभियन्ता र अध्यात्म क्षेत्रमा सक्रिय निर्मातासँगको सहकार्यले फिल्मलाई अझ जीवन्त तुल्याएको मैले महसुस गरेको छु।’
रामशरण पाठक निर्देशित फिल्ममा भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा बोल्ने दाबी गरिएकाे छ। कलाकार गजुरेलसहित राजारम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई लगायतको अभिनय रहेको फिल्मलाई पाठक आफैँले लेखेका हुन्।
दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन्। साजन थापा फिल्मका सहनिर्माता हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।