काठमाडौँ- सभामुख कृष्णबहादुर महराले तिब्बतसँगको ऐतिहासिक, सांस्कृतिक सम्बन्धका कारण नेपाल–चीन सम्बन्ध प्रगाढ भएको बताएका छन्।
चीनको स्वशासित क्षेत्र तिब्बतको संस्कृति तथा पर्यटन मन्त्रालयले ल्हासामा आयोजना गरेको ‘चौथो चीन तिब्बत पर्यटन एवं सांस्कृतिक प्रदर्शनी–२०१८’ का अवसरमा उनले तिब्बतसँगको सम्बन्धले चीन र नेपालबीचको ऐतिहासिक व्यापार मार्ग, संस्कृति आदानप्रदान तथा राजनीतिक संवादलाई जोडेको बताए। 'अहिले तिब्बत दुई देशबीचको सम्बन्ध, व्यापार, पर्यटन, संस्कृति एवं अन्य चासोका क्षेत्रको द्वारका रुपमा रहेको छ,' उनले भने।
पर्यटन तथा सांस्कृतिक प्रदर्शनीमा सहभागी हुन पाउँदा आफूलाई निकै खुसी लागेको बताउँदै सभामुख महराले केही दशकयता तिब्बतले आर्थिक एवं भौतिक पूर्वाधारमा प्राप्त गरेको सफलता प्रदर्शनीमा देख्न सकिने बताए।
प्रदर्शनीमा नेपाल पनि सहभागी भएको चर्चा गर्दै सभामुख महराले यसबाट चीनमा नेपाली सामग्रीको निर्यात बढ्ने र चीनसँग रहेको व्यापार घाटा कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
चिनियाँ राष्ट्रपति सि जिङपिङले सुरु गरेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’मा नेपाल पनि सहभागी हुन पाएकामा खुसी व्यक्त गर्दै सभामुख महराले भने, 'हामीले बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गत अन्तरदेशीय सम्पर्क सञ्जाल, पूर्वाधार निर्माण र ऊर्जा क्षेत्रमा रहेका अवसरलाई दुई पक्षबीच अभूतपूर्व सहकार्य हुन सक्ने देखेका छौँ। नेपाल र चीनको तिब्बत बीचका अन्य धेरै सीमा बिन्दु द्विपक्षीय व्यापारमा प्रयोग गर्न सक्छौँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।