जमलबाट जावलाखेल जान भनेर ट्याक्सी चढेकी मात्र थिएँ, ट्राफिक प्रहरीले चालकसँग लाइसेन्स माग्न थाले। दिदीले परैबाट रोकेकोले एकैछिन रोकेको हो के सर,छोडिदिनु न। हो कि होइन दिदी भन्दै चालक भाइ त मलाई पो देखाउन थाले। कस्तो आपत् ।
उनी १९/२० वर्षका जस्ता देखिन्थे। माया लागेर मैले पनि हो हो भनेँ। उनी ट्राफिक प्रहरीसँग बिन्ति गर्न थाले। ‘बेलुका भेटौँ न त सर’ उनी यसरी फकाउँदै थिए। तर उनको केही लागेन। ट्राफिक प्रहरीले लाइसेन्स लगे। एक हजार रुपैयाँ तिर्नुपर्ने भयो ती भाइलाई। उनका अनुसार अरु बेला त्यहाँ ट्याक्सी पार्क गरेर राख्न दिए पनि कार्यालय समयमा भने राख्न नपाइने रहेछ।
थाहा पाई-पाई किन राखेको त? घण्टाघर पुग्दै गर्दा मैले सोधेँ। ‘भर्खरै एकैछिन मात्र भएको थियो राखेको, समाती हाल्यो। ठीकै छ सरकारको ढुकुटीमा जान्छ।’ आफैँलाई यसरी चित्त बुझाउँदै थिए उनी। बेलुका भेट्न मानेको भए तिर्नु पर्दैनथ्यो त? मेरो जिज्ञासा बाँकी नै थियो। सानो स्वरमा उनले भने, ‘अलिकति चिया खर्च दिए पुग्थ्यो। कोही कोही मान्छन्।’
तपाई कति दिनुहुन्छ त दिदी अब?
कति दिने भनेर पहिल्यै तय भइसकेको थियो। उनको यस्तो प्रश्नपछि मैले पनि अलि चर्को स्वरमा सोधिहालेँ, जरिवाना तिर्नुपरेको झोँकमा म सँग असुल्ने हो कि क्या हो?
त्यस्तो त म कहाँ गर्छु र। अलि मुड अफ भयो नि दिदी।
उनले नम्र स्वरमा भने। टाफिक प्रहरीसँग पनि उनी यसरी नै सभ्य रुपमा प्रस्तुत भएका थिए। गफ गर्दै अघि बढ्ने क्रममा थाहा भयो उनी व्याचलर इन बिजिनेस स्टडिज बीबीएस, दोस्रो वर्षका विद्यार्थी रहेछन्। बिहान कलेज जाने र त्यसपछि ट्याक्सी चलाउँदा रहेछन्। ‘कलेज गएर आएपछि कि सुत्ने कि डुल्ने त हो, त्यसैले ट्याक्सी चलाउन थालेको हुँ।’ उनले सुनाए ‘भक्तपुरमा घर छ। बुबा त्यहीँको एक सामुदायिक विद्यालयमा मावि शिक्षक हुनुहुन्छ।’
ट्याक्सी चलाउँछु भन्दा बुबा मान्नुभयो त?
‘मान्नुभयो। मेरो डिग्रीले पनि के नै भएको छ र भन्नुभयो। ’ उनले जवाफ दिए।
आफन्तबाट सापटी लिएर उनले ट्याक्सी किनेका रहेछन्। कमाइ राम्रो भएको सुनाउँदै उनले गर्वका साथ भने, ‘स्नातक तह सकिँदा मेरो हातमा प्रमाणपत्र पनि हुन्छ र ट्याक्सी पनि आफ्नै भइसकेको हुनेछ। त्यसपछि म आफ्नै व्ययवसाय गर्न पनि सक्छु वा यदी बिहे नै गरेँ भने पनि परिवार पाल्न सक्छु।’
जावलाखेलमा उत्रिने क्रममा उनले मलाई आफ्नो कार्ड दिए। पहिलोपटक यसरी कुनै ट्याक्सी चालकले मलाई आफ्नो कार्ड दिएका थिए। ट्याक्सी भाडामा चाहिए सम्पर्क गर्नका लागि उनले कार्ड बनाएका रहेछन्। विज्ञापनका लागि पैसा खर्च गर्न नपर्ने। यात्राका क्रममा चालकको व्यवहार थाहा पाइहालिने। अनि उत्रिने बेला कार्ड दिएर बिदा माग्ने। कस्तो राम्रो आइडिया। किताबका पाठले भन्दा कामको अनुभवले उनलाई कति धेरै सिकाइसकेको रहेछ।
यस्तै २ हप्ताअघि एक संस्थाले गोकर्णेश्वर नगरपालिकास्थित सुन्ताखान माध्यमिक विद्यालयमा आयोजना गरेको नाटक प्रदर्शनीमा जाँदा केही विद्यार्थीसँग भेट भयो। भारतीय शिक्षाकर्मी गिजुभाइको प्रसिद्ध कृति 'दिवा स्वप्न'मा आधारित नाटक भन्नेबित्तिकै सुन्ताखान जान तुरन्तै तयार भइहालेँ। किनकी विद्यार्थीलाई पढाइ सिकाइमा उत्साहित गर्न शिक्षकले कक्षाकोठामा हुने क्रियाकलापहरुलाई कसरी रोचक बनाउन सक्छन् र कक्षाकोठाबाहिर पनि विद्यार्थीलाई धेरै सिकाउन सकिन्छ भन्ने मूल विषयवस्तुमा केन्द्रित 'दिवा स्वप्न' म आफैँलाई असाध्यै मन परेको कृति हो। नाटकमा भाग लिने सबै कलाकार विद्यार्थी भएका कारण पनि नाटक हेर्ने मन थियो।
उनीहरु काभ्रेस्थित कुशादेवी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी हुन्। उनीहरुको अभिनय आत्मविश्वासले भरिपूर्ण र सशक्त थियो। नाच्न गाउन मादल बजाउन उति नै सीपालु। बिहान क्याम्पसको पढाइपछि उनीहरु रिहर्सलका लागि समय निकाल्छन् र पढाइ प्रभावित नहुने गरी विद्यालयमा नाटक मन्चन गर्छन्। र अलिअलि कमाउँछन् पनि।
‘आफ्नै कमाइले कलेजको फी तिरेँ’, स्नातक तह पहिलो वर्षमा अध्ययनरत विद्यार्थी पुष्पा थापा भन्छिन्। अहिलेसम्म काठमाण्डौ र काभ्रेका तीन वटा सामुदायिक विद्यालयमा तीन शाे गर्दाको अनुभवले उनमा आत्मविश्वास जगाएको छ। पहिले उनलाई दर्शकको नजिकै गएर अभिनय गर्न डर लाग्थ्यो। अब लाग्दैन, ज्यादै रमाइलो लाग्न थालेको छ। ‘पिटेर हैन माया र फरक तरिका प्रयोग गरेर राम्ररी सिकाउन सकिन्छ भन्ने सन्देश दिँदै शिक्षकलाई प्रेरित गर्न सकेकोमा ठूलो सन्तोष लागेको छ।’ अहिलेसम्म आफ्ना दर्शक अर्थात शिक्षक तथा विद्यार्थीबाट पाएको प्रतिक्रियाबाट उनी यसरी खुसी प्रकट गर्छिन्।
१२ कक्षा पास गर्नेबित्तिकै ऋण खोजेर हुन्छ कि के गरेर हुन्छ, सके अमेरिका, बेलायत, क्यानडा र अष्ट्रेलिया, नसके जापान, कोरिया त्यो पनि नसके खाडी मुलुकमा पैसा कमाउने मुख्य उद्देश्यसहित जाने अनि आफ्नो देशमा कुनै भविष्य नदेख्ने सोच विकसित हुँदै गएको छ। साथीभाइ गइसके, म मात्र बाँकी छु भनेर उनीहरुमाथि दबाब पनि छ। यस्तोमा पढाइसँगै कमाइ गर्ने र यहीँ रमाउने यी विद्यार्थीलाई भेट्दा खुसी लाग्नु स्वाभाविकै हो।
सबैका छोराछोरी विदेश गइसके आफ्ना मात्र जान सकेनन् भनेर कति आमाबाबु पनि हीनताबोध गर्छन्। अभिभावकका लागि छोराछोरी विदेश जानु प्रतिष्ठाको विषयसमेत बनेको छ। जबकी त्यहाँ धेरैले कुन खालको काम र कति संघर्ष गर्नुपर्छ, थाहा नभएको कहाँ हो र।
म सरसफाइको काम गर्छु, प्रतिघण्टा यति डलर हुन्छ भन्दा मख्ख पर्छौ हामी अभिभावक। त्यहाँ गर्ने काम यहाँ गर्ने हो भने लाज हुन्छ र यहाँ कमाइ कम हुन्छ। हामीमध्ये धेरैको सोच यही छ। जति कमाइ धेरै, अभिभावक उतिनै दंग। हो, यहाँ व्याप्त भ्रष्टाचार, दण्डहीनता र राजनीतिक आस्थाका भरमा मात्र पाइने अवसर जस्ता कारणले कतिपयलार्ई देश छाड्न मन लाग्छ। तर विदेशमा चाहिं हिरामोती बर्सिन्छ र?
मुख्य कुरा हाम्रो शिक्षा प्रणालीले पाठ्यक्रममा आधारित भएर पढाइलाई सिकाइमा अनि सीपमा जोड्न सकेको छैन। किताब घोकेर राम्रो अंक वा ग्रेड ल्याउन बढी जोड दिइन्छ। बुझे पनि नबुझे पनि घोक्यो। जाँच हुन्जेल घोकेको याद रहन्छ, त्यसपछि सकियो। यस्तो शिक्षा कामै छैन। त्यसैले त उच्च शिक्षाको डिग्री हात पर्दा पनि बेरोजगार भएर बस्नुपर्ने बाध्यता छ। कतै निवेदन हाल्दा न्यूनतम यति वर्षको अनुभव हुनुपर्छ भनिन्छ। कामै नगरी केही सीप नजानी कहाँबाट अनुभव ल्याउनु? अनि बिरक्तिएर विदेशिनु नै उत्तम लाग्न सक्छ।
विद्यार्थीसँग जाडो गर्मीको लामो बिदा वा अन्य खाली समय हुन्छ। विद्यालय वा क्याम्पसहरुले यस्ता समयको सदुपयोग हुने गरी काम सिक्न, कामसँगै केही आर्जन गर्न विद्यार्थीहरुलाई प्रेरित गर्नुपर्छ। १२ कक्षापछि कमाउँदै पढ्न विदेश पठाउन सक्ने वा तयार हुने हामी अभिभावककले पनि साथ दिनुपर्छ।
वित्तीय संस्था, गैरसकारी संस्था, होटल लगायत अन्य व्यवसायीले पनि पढ्दै गरेका विद्यार्थीलाई काम सिक्ने अवसर सृजना गर्नुपर्छ। यसले गर्दा थोरै नै सही कमाइ त हुन्छ नै। त्योभन्दा बढी उनीहरु गल्ती वा कमीकमजोरीबाट सिक्दै अनुभव र आत्मविश्वास बटुल्न थाल्छन्। घर परिवारको साथमै रहेर घर र शिक्षालयभन्दा बाहिरको संसारको बारेमा थाहा हुन्छ। त्यहाँ टिक्ने र सफल हुने कायदा जान्ने अवसर मिल्छ। यस्तो मौका विश्वविद्यालयबाट लिइने उपल्लो कोटिको प्रमाणपत्र भन्दा कम कहाँ हुन्छ र?
[[email protected]]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।