दाङ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई म्यादी प्रहरी विनोद चौधरीको हत्या गरेको आरोपमा दाङ पुर्याइएको छ।
नेपाली कांग्रेसको चुनावी सभालाई लक्षित गरी गत मंसिर १२ मा दाङको तुलसीपुरमा गराइएको बम विस्फोटमा परी तुलसीपुर उपमहानगरपालिका–१८ निवासी २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको ज्यान गएको थियो। सोही घटनालाई लिएर विश्कर्माविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय परिसरमा प्रवक्ता प्रकाण्डले सरकारलाई ‘निरंकुश’को संज्ञा दिँदै कानुन र मानवअधिकारको ठाडो उल्लंघन गरेको बताए। उनले सर्वोच्च अदालतको आदेश नमान्ने सरकारको व्यवहार ठिक नभएको जिकिर गरे।
दाङ प्रहरीका अनुसार विश्वकर्मामाथि लगाइएको यो सबैभन्दा ठूलो मुद्दा हो। शुक्रबार साँझ ५ः४५ बजे मात्र दाङ पुर्याइएकोले उनलाई आइतबार मात्रै अदालतमा हाजिर गराइने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक कृष्णहरि शर्माले जानकारी दिए।
भोजपुरबाट धरौटीमा छुटेका विश्वकर्मालाई फेरि पक्राउ गरी प्रहरीले दाङ ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।