काठमाडौं- चाडपर्वको मौसम सुरु भएसँगै बजारमा सुनको माग चुलिएपछि नेपाल राष्ट्र बैंकले कोटा बढाउन सिफारिस गरेको छ। बैंकले दैनिक ५ किलो सुनको कोटा बढाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको हो।
हाल सुनको दैनिक माग ४५ किलोसम्म पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ। तर, माग अनुसारको आपूर्ति नहुँदा बजारमा सुनको अभाव चुलिएको छ।
सरकारले दैनिक २५ किलो सुन आयात गर्न अनुमति दिएको छ। राष्ट्र बैंकको सिफारिसमा वाणिज्य बैंकले सुन आयात गर्दै आएका छन्।
बजारमा सुनको अभाव देखिएपछि बैंकले कोटा बढाउन सिफारिस गरेको हो।
मन्त्रालयका सहसचिव रविशंकर सैंजुले कोटा बढाउने बैंकको सिफारिस प्राप्त भएको बताए। ‘राष्ट्र बैंकको सिफारिसमा मन्त्रालयले पनि आफ्नो तर्फबाट अध्ययन गरेर निर्णय लिन्छ,’ उनले भने। बैंकले तीन महिनाका लागि कोटा बढाउन सिफारिस गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।