काठमाडौं– नेपाली कांग्रेसका संस्थापन इतर समूहका नेताहरुको बैठकले पार्टी सभापति शेर बहादुर देउवाले गुट चलाएको निष्कर्ष निकालेको छ।
शुक्रबार बिहान बसेको बैठकमा आगामी केन्द्रीय समितिको बैठकमा साझा धारणा बनाएर जाने नेताहरुबीच सहमति भएको बताइएको छ। पार्टी सभापतिले गुटलाई महत्व दिएर पार्टी सञ्चालन गरेको ठहर गर्दै संस्थापन इतर समुहले संगठनलाई ध्यान दिएर कार्य सञ्चालन गर्ने जनाएका थिए।
भदौ २८ मा हुने केन्द्रीय कार्य समितिको बैठकबाट गठन हुने अनुशासन र कार्यसम्पादन समितिमा दिने व्यक्तिहरुका नामका विषयमा पनि छलफल भएको बताइएको छ। पदाधिकारी पदेन सदस्य रहने गरी कार्यसम्पादन समिति २२ जनाको हुने विधानमा उल्लेख गरिएको छ। कार्य सम्पादन समितिमा पौडेल पक्षलाई १० जना दिने सभापतिको तयारी छ।
कांग्रेसका समूहहरुको मध्यस्थता गर्दै आएका अर्जुनरसिंह केसीको गोगंबुस्थित घरमा नेताहरु छलफलमा जुटेका थिए। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा रामशरण महत लगायत सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।