मानिसहरुका अगाडि चिनिन वा आकर्षणको केन्द्र बन्न कसलाई मनपर्दैन होला? मलाई पनि मनपर्छ। साँच्चै भन्नुपर्दा यसले मेरो पुरानो मनलाई खुशी बनाउँछ। तर यस्तो अवस्था पनि हुन सक्छ कि यसले लाजैमर्दो हिसाबले घाटा गर्छ। त्यस्तो भयो भने के गर्ने भन्ने तपाईंलाई थाहै हुँदैन।
गएको महिना जयपुरमा त्यस्तै उकुसमुकुस भयो। पत्रकारितासम्बन्धी एउटा सम्मेलनको म अतिथि थिएँ। त्यहाँ सयौं युवा विद्यार्थीहरु आएका थिए। पछि उनीहरुमध्ये धेरैजना अटोग्राफ र सेल्फीका लागि मकहाँ आए।
यत्तिको आकर्षण स्वभाविक रुपमा त्योबेलासम्म मीठो रह्यो जतिबेला केटाकेटीको भीडबाट कसैले सेल्फी खिच्नका लागि मोबाइल उज्याउँदै सोध्यो, "तपाईंको नाम के हो सर?" मपछाडि उभिएकी अर्की एक विद्यार्थीको जिज्ञासा पनि बढ्यो होला र सोधिन्,"अनि तपाईं के गर्नुहुन्छ सर?"
उनीहरुलाई म को हुँ भन्नेबारे अलिकति पनि हेक्का थिएन। उनीहरुले आफुमध्येका केही मतिर झ्याम्मिएको देखेका थिए र त्यही मेसोमा उनीहरु पनि मसँग अलमलिन आइपुगेका थिए। उत्साहित भएर उनीहरु आफुले चिन्दै नचिनेको मानिसको अटोग्राफ लिइरहेका थिए र फोटो खिच्नुको कारण नै नजानी सेल्फी लिइरहेका थिए।
भीडमा तछाडमछाड गरेर कागजका टुक्राहरु अटोग्राफका लागि मतिर आइरहेका थिए। कुनै नोटबुकबाट च्यातिएका कागज थिए भने कति न्यापकिन पेपरका टुक्राहरु थिए। कति त अखबारका टुक्रासमेत थिए।
मलाई ती- आग्रह नकार्ने मन भएन तर मलाई मैले गरेका ति हस्ताक्षर लामो समय टिक्ने छैनन् भन्ने थाहा थियो। त्यही क्रममा मैले फ्याट्ट सोधिहालें,"यो सब केको लागि?" "रमाइलो नि सर!" कसैले उत्तिकै छिटोसँग जवाफ दियो,"सबैले लिएका छन् त्यसैले मलाई पनि लिन मनलाग्यो।"
गएको महिना अरुलाई पनि यस्तै पर्दोरहेछ भन्ने थाहा पाएँ। शेखर गुप्ता (भारतका प्रख्यात पत्रकार जो हाल द प्रिन्टका प्रधान सम्पादक छन्) लाई एकपटक एक वेटरले प्रभु चावला (अर्का पत्रकार जो चेन्नाईबाट छापिने द न्यु इन्डियन एक्सप्रेसका सम्पादकीय निर्देशक छन्) भन्ठानेछन्। वेटरले खूबै प्रशंसा गरेकाले शेखरले चुपचाप प्रशंसा ग्रहण गरेछन् (सहेछन्)। केहीबेरपछि जब वेटरले अटोग्राफ मागे। अनि त शेखरलाई प्रभु चावलाको हस्ताक्षर नगरी सुखै भएन। पछि रेष्टुरेन्टका म्यानेजरले शेखरलाई चिनेर नजिक आए र किन त्यसरी अर्कै व्यक्ति बन्नुपरेको भनी सोधी पनि हालेछन्।
आम रुपमा परिचित हुनुको पहिलो अनुभव म कहिल्यै भुल्दिनँ। यो सन् १९८२ को कुरा हो। म त्योबेला भर्खरै लन्डन विकेन्ड टेलिभिजनमा काम गर्न थालेको थिएँ। निशा (करणकी पत्नी) र म एउटा भारतीय विवाह समारोहमा पुगेका थियौं। अचानक एकजना व्यक्ति मतिर आयो। मेरो सम्झनामा अझै छ कि त्यो मानिस होचो, मोटो, कालो वर्णको र नराम्रो देखिन्थ्यो, यो किन भन्दैछु भन्ने एकैछिनमा तपाईंलाई थाहा भइहाल्छ। एकैछिनमा त्यो मानिस मेरो अगाडि थियो।
"तपाईं करण थापर हो नि हैन?" उसले सोध्यो।
निशाले मेरो पेटतिर घोचेर होइन भन्नु भन्ने इशारा गरिन्। तर मैले गर्वका साथ छाति फुलाएँ। मैले हो भनिरहनै परेन, त्यो मानिसले जवाफ पाइहाल्यो।
"टिभीमा त तपाईं अग्लो र ह्यान्डसम देखिनुहुन्छ त!" उसले भन्यो,"तर बाहिर त तपाईं होचो र नराम्रो देखिनुहुँदो रहेछ।" त्यति भनेर त्यो मानिस त्यहाँबाट गायब भयो।
यथार्थमा यस्ता लाजमर्दो अनुभवहरु सम्झिन लायक हुन्छन्। किनभने यस्ता सम्झनाहरु अरुको आकर्षण जित्ने कलात्मक शैली हो। यस्ता अनुभवहरु सुनाउँदै तपाईं आफुलाई हाँसोको पात्र बनाउनुहुन्छ र अरुलाई हँसाउनुहुन्छ। जब उनीहरु हाँसिरहेका हुन्छन्, उनीहरु तपाईंसँगै हाँसिरहेका हुन्छन्।
एकपटक अटोग्राफ माग्ने वा सेल्फी खिचिमाग्ने कोहि बनेर सोचौं त! उनीहरुले तपाईंको अपमान गर्ने वा तपाईंलाई लज्जित बनाउने अभिप्रायले आउँदैनन्। उनीहरु आफ्नो वरिपरिको वातावरणमा झुम्दै आइपुगेका हुन्छन्। तर उनीहरुले के प्रभाव पारे भन्ने चाहिं महत्वपुर्ण हो। सानो आग्रहले मलाई उनीहरुले सिंहासनमा राखे र अर्को पलमा त्यहाँबाट खसालिदिए। त्यो एकखालको मजा हो। त्यसले मलाई एक आम मानिस नै रहेको अनुभुति दिलाएको छ।
( भारतीय लेखक करण थापरको यो लेख हिन्दुस्तान टाइम्सबाट भावानुवाद गरिएको हो । )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।