काठमाडौं– प्रवासी नागरिकलाई मतदानसम्बन्धी अधिकार देशअनुसार फरकफरक रहेको छ। युरोपेली देशहरुको कुरा गर्दा फ्रान्सले प्रवासी नागरिकलाई मतदानमा असीमित अधिकार दिएको छ भने बेलायत र जर्मनीले आफ्नै किसिमको व्यवस्था अनपाएका छन्। बेलायतले देश छोडेको १५ वर्षसम्म मतदान अधिकार दिएको पाइन्छ भने जर्मनीले २५ वर्षसम्म दिएको छ।
मानिसहरु काम अथवा अन्य शिलशिलामा देशबाहिर बस्ने क्रम बढेसँगै प्रवासी नागरिले पनि मतदानको अधिकार उपयोग गर्न पाउनुपर्ने माग उठ्न थालेको हो। प्रवासी नागरिकलाई कसरी निर्वाचन प्रक्रियामा सहभागी गराउने भन्ने विषय लामो समय निर्वाचन प्रक्रिया र व्यवस्थापनको मुद्दा रहेको ‘द इलोक्टोरल नलेज नेटवा' ले उल्लेख गरेको छ।
निर्वाचनमा भाग लिन पाउने अधिकारलाई विश्वव्यापी अधिकारको रुपमा व्याख्या गरे पनि सम्बन्धित देशको निर्वाचित संसद्ले तत्सम्बन्धी व्यवस्था नगरेसम्म प्रवासीको मताधिकार सुरक्षित भएको पाइँदैन। प्राचीन समयमा प्रवासीहरुलाई निर्वाचन प्रक्रियामा सहभागी हुने अधिकार रोमन सम्राट अगस्टसले दिएको इतिहास छ। आधुनिक युगमा जब विस्कान्सिन अमेरिकाको राज्यका रुपमा स्थापना भएपछि प्रवासीहरुले निर्वाचन प्रक्रियामा सहभागी हुने अवसर पाएको ‘द इलोक्टोरल नलेज नेटवा'मा उल्लेख छ। युद्धमा रेहका सैनिकलाई पनि राज्यको निर्वाचन प्रक्रियामा सामेल गर्ने निर्णय पश्चात विदेशमा रहेका नागरिकले पनि निर्वाचनमा सहभागी हुने अवसर प्राप्त गरेका हुन्।
प्रवासीहरुलाई निर्वाचन प्रक्रियामा सहभागी गराउने विषयमा अमेरिकामा सुरुवाती चरणमा मतभेद उत्पन्न भएको थियो। रिपब्लिकनहरु विदेशमा रहेका सैनिकहरुले आफ्ना उम्मेदवार अब्राहम लिंकनलाई सहयोग गर्ने भन्दै प्रवासीहरुलाई पनि निर्वाचनमा सहभागी गराउने पक्षमा थिए भने डेमोक्र्याटहरु निर्वाचन परिणाममा व्यापक उतारचढाव आउने निकर्षसहित उनीहरुलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन नहुने पक्षमा थिए। पहिलो विश्वयुद्धसम्म आइपुग्दा युद्धमा सहभागी प्रायः सबै राष्ट्रले देश बाहिर रहेका (अधिकांश सैनिक) हरुलाई निर्वाचन प्रक्रियामा सहभागी गराएको उल्लेख पाइन्छ। त्यस भन्दा पहिले नै न्यूजिल्याण्डले १८९० मा र अष्ट्रेलियाले १९०२ मा आफ्ना देशका प्रवासीहरुलाई मताधिकार दिएको पाइन्छ।
छिमेकी देश भारतमा पनि सन् २०१० मा जनताको प्रतिनिधि ऐन संशोधन गरी देश बाहिर रहेका भारतीय नागरिकलाई निर्वाचनमा सहभागी हुन पाउने अवसर खुलाएको छ। संशोधित ऐनको अनुसूची २०ए मा भारतका नागरिकहरु विभिन्न उद्देश्य प्राप्तिका लागि विदेशमा रहँदै आए पनि निर्वाचन प्रक्रियामा आफ्नो राहदानीमा उल्लेखित मतदान क्षेत्रलाई प्रतिनिधित्व गर्दै निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।