दाङ- दाङको घोराहीमा बिनाअनुमति विद्यालय सञ्चालन भएको पाइएको छ। घोराही उपमहानगरपालिका वडा नं १५ को मध्यभागमा एउटा संस्थागत विद्यालय बिनाअनुमति सञ्चालन हुँदासमेत सम्बन्धित निकाय बेखबर छ।
घोराहीको काठेकोहल चोक नजिक बेस्ट मन्टेश्वरी चिल्ड्रेन हाउस नामबाट सञ्चालित विद्यालयले कुनै पनि निकायवाट अनुमति लिएको छैन।
यसै शैक्षिक सत्रबाट सुरु भएको विद्यालयमा एउटा मात्र कक्षा सञ्चालनमा छ। यहाँ जम्मा ११ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयमा सञ्चालकसहित ६ जना कर्मचारी कार्यरत रहेका छन्।
विद्यालयको आधिकारिकताको विषयमा बुझ्दा घोराही उपमहानगरपालिका अन्तर्गत नगर शिक्षा समिति संयोजक नारायण पौडेलले अनुमति लिएको सम्बन्धमा आफूलाई जानकारी नभएको बताए। ‘अनुमतिका लागि ढिला गरी आएकोले यो वर्ष हुँदैन, अर्को वर्षको लागि आउनु भनेका हौं,’ उनले भने, ‘यसै शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गरेको भन्ने थाहा भएन।’
विद्यालयको वैधानिकताको विषयमा विद्यालयकी सञ्चालिक संगीता गुप्ताले आफूले काठमाडौंमा रहेको बेस्ट मन्टेश्वरीको शाखाको रुपमा सञ्चालन गरेको बताइन्। छुट्टै अनुमति लिनुपर्ने विषयमा आफूलाई जानकारी नभएको उनको प्रतिक्रिया छ।
‘फ्रेन्चाइजको रुपमा सञ्चालन गरेकाले छुट्टै अनुमति लिनुपर्ने बारे थाहा थिएन, पछि वडा कार्यालयमा पनि बुझ्न भएको थिएँ समय सकिएछ,’ प्रिन्सिपलसमेत रहेकी गुप्ताले भनिन्, ‘अर्को वर्षको लागि निवेदन दिएको छु।’
आफूले सञ्चालन गरेको मन्टेश्वरी अवैध मान्न उनी तयार छैनन्। उनले भनिन्, ‘सुरुमा धेरै व्यवधानहरु भएका कारण समयमा दर्ता गर्न नसकेको हौं, अभिभावकलाई यसबारे जानकारी दिएका छौं।’
तर विद्यालयका अभिभावक भने यस विषयमा जानकार छैनन्। घर नजिकमा विद्यालय खुलेकोले ल्याउन–लैजान सजिलो हुने भएकोले बच्चा सो विद्यालयमा भर्ना गरेको एक अभिभावकले वताए।
जिल्लामा मन्टेश्वरी सञ्चालन गर्दा सम्बन्धित वडा कार्यालयवाट अनुमति लिनुपर्ने प्रावधान छ। विगतमा नगरपालिका, उपमहानगरपालिका वा गाउँपालिकाबाट अनुमति लिनुपर्ने भएपनि हाल वडाले सञ्चालन अनुमति दिने गरेको छ।
विद्यालय रहेको घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेश पाण्डेले कक्षा सञ्चालन अनुमति नदिएको बताएका छन्। ‘यो वर्ष ढिला भयो, अर्को वर्षको लागि तयारी गर्नुस् भनेका हौं,’ वडाध्यक्ष पाण्डेले भने, ‘कक्षा नै सञ्चालन गरेको भए अनुगमन र कारबाही गर्छौं।’
यो विद्यालय त एक उदाहरण मात्र हो। उपमहानगरको केन्द्रमा रहेको अवैधानिक रुपमा विद्यालय सचालन हुँदासमेत सम्बन्धित निकायको दृष्टि पुगेको देखिँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।