काठमाडाैं–भारतमाथिको एकतर्फि परनिर्भरता तोड्दै नेपालले चीनसँग त्यहाँका सबै व्यापारीक बन्दरगाह प्रयोग गर्न पाउनेसम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। अढाई वर्षअघि दुई मुलुकबीच भएको व्यापार तथा पारवहन सम्झौताको महत्वपूर्ण कडिका रुपमा रहेको नेपालले चीनका बन्दरगाह उपयोग गर्न पाउनेसम्बन्धी सम्झौताको प्रोटोकल (कार्यविधि) मा हस्ताक्षर भएसँगै नेपालले आफूलाई उपयुक्त हुने जुनसुकै बन्दरगाह उपयोग गर्न पाउने बाटो खुलेको छ।
दुवै देशका सरकारी अधिकारीबीच बिहीवार मध्यरातमा भएको सहमति अनुसार अब नेपालले तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्तु आयात गर्दा प्रयोग हुने त्यान्जिन, सेन्जेन, लियान्योन्गङ, झ्यान्यिङ लगायतका खुला सामुन्द्रिक र ल्यान्झाउ, ल्हासा, सिगात्से लगायतका सुक्खा बन्दरगाह उपयोग गर्न पाउनेछ। त्यस्तै, ती बन्दरगाहबाट नेपालसम्म आउने जुनसुकै उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धीत प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रिया, पारवहनसँग सम्बन्धी विविध विषयमा पनि महत्वपूर्ण सम्झौता भएको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।
नेपालका तर्फबाट बाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजू र चीनका तर्फबाट त्यहाँका यातायात सेवा विभाागका महानिर्देशक वाङ सुपिङको नेतृत्वका बुधबार र बिहीबार काठमाडौंमा भएको वार्ताले पारवहन सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिएको हो।
पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएसँगै अब नेपालले चीन हुँदै तेस्रो मुलुकसँगको सीधा पारवहन सुविधा पाउने बाटो खुलेको छ। नेपालजस्तो भूपरिवेष्ठित मुलुकले निकट छिमेकी मुलुक हुँदै निर्वाध पारवहन सुविधा पाउने अन्तर्राष्ट्रिय कानुन भए पनि हालसम्म पनि नेपालले भारतका मूलतः दुई सामुन्द्रिक बन्दरगाहमात्रै प्रयोग गर्दै आएको छ।
अढाइ वर्षअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग महत्वपूर्ण व्यापार तथा पारवहन सम्झौता गरेको थियो। तर, ती सम्झौता कार्यान्वयनका लागि प्रोटोकलले मूर्त रुप पाएको थिएन । प्रोटोकलमा सहमति जुटाउने हेतुले यसअघि २ पटक बैठक बसिसकेको थियो । काठमाडौंमा बसेको यो बैठकले प्रोटोकललाई अन्तिम रुप दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।