काठमाडौं– विवादित निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिले धरहरा पुनर्निर्माणको परामर्श सेवाका लागि दाबी गरेको छ। उक्त कम्पनी धरहरा पुनर्निर्माणको परामर्श सेवाका लागि खोलिएको बोलपत्रको प्रारम्भिक प्राविधिक चरणमा पाससमेत भइसकेको प्राधिकरणका सम्पदा महाशाखा प्रमुख राजुमान मानन्धरले बताए।
करिब साढे ३ अर्ब रुपैयाँ लागतमा बन्न लागेको धरहराका लागि निर्माण कम्पनीको प्राविधिक प्रस्ताव टुंगिएर आर्थिक प्रस्ताव बाँकी रहेकाे उनले जानकारी दिए।
सोही पुनर्निर्माण कार्यको रेखदेख र अनुगमन गर्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले केही समयअघि आसयपत्र माग गरेको थियो। त्यसमा आधा दर्जन कम्पनीले आवेदन दिएकामा पप्पुसहित ३ वटा कम्पनी प्राविधिक रुपमा सक्षम देखिएका छन्। मानन्धरका अनुसार प्राविधिक प्रस्तावमा छनोट भएका अरु दुई कम्पनी खानी निर्माण सेवा, बानेश्वर र विनायक-कस्यप जेभी, भक्तपुर छन्।
आर्थिक प्रस्तावको कागजात यही भदौ २६ गते खोल्ने योजना रहेको प्राधिकरणका सम्पदा महाशाखा प्रमुख मानन्धरले बताए।
मानन्धरका अनुसार आर्थिक प्रस्तावमा पनि छनोट हुने कम्पनीले डिजाइन अनुरुप काम भए/नभएको, निर्माण सामग्रीको गुणस्तर लगायतका धरहरा पुनर्निर्माणको कामको सुपरिवेक्षण गर्ने र प्राधिकरणलाई सुझाव दिनेछ।
यस्तो परामर्श सेवाको बजेट करिब ६ करोड रुपैयाँ छ।
पछिल्लो समय निर्माणका काममा बदमासी गरेको, गुणस्तरहीन काम गरेको लगायतका कारण पप्पु कन्स्ट्रक्सन बदनाम छ। आलोचना भइरहेको समयमा नै प्राधिकरणले धरहराजस्तो महत्वपूर्ण सम्पदाको पुनर्निर्माणमा पप्पुलाई प्रारम्भिक चरणमा छनोट गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।