दाङ– सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। अर्काको नामबाट फेसबुक ‘अकाउन्ट’ बनाएर तथानाम कुरा गर्ने एक व्यक्तिलाई दाङको तुलसीपुरबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा सल्यान बागचौर नगरपालिका–९ का टोपेन्द्र ओली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
प्रहरीका अनुसार ओलीले दिपेन्द्र डिसी र एकता डाँगीको नामबाट फेसबुक ‘अकाउन्ट’ खोली उनीहरुको चरित्र हत्या गरेका थिए।
आफ्नो नामबाट ‘फेक अकाउन्ट’ बनाएपछि पीडित डिसीले साउन १५ गते साइबर अपराध शाखा, टेकुमा उजुरी दिएका थिए।
सोही उजुरीलाई आधार बनाएर इलाका प्रहरी कार्यालय तुलसीपुरले अनुसन्धान गरी ओलीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए।
ओलीलाई तुलसीपुर बसपार्क नजिकबाट बिहीबार पक्राउ गरिएको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।