काठमाडौं– राष्ट्रियसभामा चारमध्येको एक दिगो विकास तथा सुशासन समितिमा नेपाली कांग्रेसकी तारादेवी भट्ट विजयी भएकाे अाैपचारिक घाेषणा गरिएकाे छ।
बुधबार भट्टको मात्र एकल उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएकी थिइन्।
उनलाई आज राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले सपथ गराएका छन्। तीन समितिमा यसअघि नै नेकपाका सांसदहरु निर्विरोध रुपमा चयन भइसकेका छन्।
अन्तिम समयमा आएर उक्त समितिको नेतृत्व नेपाली कांग्रेसलाई दिने सहमती भएपछि तीन समितिको मात्र सभापति चयन भदौ १३ गते गरिएको थियो।
सुशासन समितिको सभापतिका लागि बुधबार आवेदन माग गरिएको थियो। अन्य प्रतिस्पर्धी नभएकाले आज नै भट्टलाई सभापतिको सपथ खुवाइएको हो।
विकास आयोजना र लक्ष्यका बारेमा छलफल गर्ने यो समितिमा १४ सदस्य छन्। राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल, कालीबहादुर मल्ल र दिनानाथ शर्मा उक्त समितिमा सदस्य छन्।
संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा चार विषयगत समिति छन्। उक्त समितिहरु हाल ज्येष्ठ सदस्यले सञ्चानल गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।