काठमाडौं– साफ च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको खेलमा नेपालले अग्रता लिएको छ। पहिलो हाफको खेल सकिँदासम्म नेपाल १–० ले अगाडि छ।
खेलको २१ मिनेटमा नेपालका अनन्त तामाङले गोल गरेका हुन्। त्यसपछि विमल घर्तीमगरले गोल गर्ने प्रयास गरेपनि उनको प्रहार गोलपोष्ट नजिकबाट बाहिरिएको थियो।
यसअघि प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको थियो। अन्तिम मिनेटमा सम्हालिन नसक्दा नसक्दा नेपालले गोल खान पुगेको थियो।
पहिलो खेलमा हार बेहोरेका कारण पनि आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाव छ। समूह ‘ए’ अन्तर्गत पाकिस्तान र आयोजक बंगलादेशले आफ्नो पहिलो खेल जित्दै समान ३ अंक बटुलिसकेका छन्। यसअघि बंगलादेशले आफ्नो पहिलो खेलमा भुटानलाई हराएको थियो।
नेपाल प्रतियोगिताको कम्तिमा सेमिफाइनल पुग्ने तथा उपाधि जित्ने लक्ष्यसहित बंगलादेश गएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।