काठमाडौं- भारतस्थित नेपाली दूतावास झन्डै एक वर्षदेखि नेतृत्वविहीन अवस्थामा छ। यसबीच नेपाल-भारत उच्चस्तरीय भ्रमण पनि भए। बिहीबार मात्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड चारदिने भ्रमणका लागि भारत गइसकेका छन्।
तर, लामो समय नेतृत्व नहुँदा पनि असर नपर्ने दूतावासको औचित्यमाथि नै प्रश्न उठाइन थालेको छ।
नेपालका लागि महत्वपूर्ण छिमेकी देशमा लामो समय राजदूत नहुँदा राम्रो सन्देश नजाने पूर्वराजदूत विजयकान्त कर्ण बताउँछन्। ‘लामो समयदेखि राजदूत नियुक्त नहुँदा र बारम्बार उच्चस्तरीय भ्रमण हुनुले भारतमा राजदूत पद नै पो नचाहिने हो कि भन्ने प्रश्न उठेको छ,’ कर्णले भने, ‘लामो समयदेखि प्रधानमन्त्री कार्यालयले नै भारतीय मामिला हेर्ने गरेको इतिहासले राजदूत पदको महत्व नभएको देखिन्छ। यो परराष्ट्र मन्त्रालयको अकर्मण्यताको उच्चतम बिन्दु हो।’
भारतमा कार्यवाहक राजदूत भई कार्यसम्पादन गरेका परराष्ट्रका अधिकारीहरु भने राजदूत नहुँदा काम गर्न असजिलो हुने बताउँछन्।
दूतावास नेतृत्व विहीनताकै अवस्थामा प्रधानमन्त्री केपी ओलीले भारतको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पटकपटक नेपाल भ्रमण गरिसकेका छन्।
परराष्ट्र मन्त्रालयका अधिकारीहरुले राजदूत नियुक्ति प्रक्रिया चाँडै सुरु हुनुपर्ने बताए पनि ११ महिनादेखि भारतका लागि नेपाली राजदूत नियुक्ति हुन सकेका छैनन्।
तत्कालीन राजदूत दीपकुमार उपाध्यायले गत मंसिरको आम निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दिनकै लागि राजदूत पदबाट राजीनामा दिएका थिए। असोज २० गते उनले राजीनामा दिएपछि दूतावास नेतृत्वविहीन बनेको हो।
उपाध्याय राजदूत नियुक्त हुनअघि पनि परराष्ट्र मन्त्रालयका अधिकारीहरु खगनाथ अधिकारी र कृष्ण ढकाल कार्यावाहक राजदूतको भूमिकामा थिए। त्यसअघि दुर्गेशमान श्रेष्ठ राजदूत थिए।
सरकारले गत असार ३२ गते भारतका लागि राजदूतका रुपमा पूर्व निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई सिफारिस गरे पनि यसले पूर्णता प्राप्त गर्न सकेन। हाल भारतसहित मलेसिया, युएई, न्युयोर्कस्थित राष्ट्रसंघीय कार्यालयमा राजदूत पद रिक्त छ भने अन्य देशका दूतावास पनि नेतृत्वविहीन हुने अवस्थामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।