काठमाडौं- नेपाली कांग्रेसका सांसद डा मीनेन्द्र रिजालले बिम्स्टेक राष्ट्रका सेनाहरुको संयुक्त तालिममा नेपाली सेनालाई नपठाउने निर्णय गरी देखाउन चुनौती दिएका छन्।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रिजालले काठमाडौं घोषणापत्रमा निर्णय नभएको प्रधानमन्त्रीले बताइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त तालिम गर्ने बताइरहेको स्मरण गराए। रिजालले नेपाली सेनालाई नपठाई देखाउन सरकारलाई चुनौति दिँदै भने, ‘अन्यथा निर्णय भएको छैन भन्नुको औचित्य के हो?'
प्रधानमन्त्रीले निर्वाचनपूर्व विदेशीसँग आँखा जुधाउँछु भन्ने तर प्रम भइसकेपछि विदेशीको लयमा लय मिलाएको आरोप लगाए। उनले थपे, ‘आम बुझाइ त्यही हो। होइन भने संसदलाई जवाफ चाहियो।’
नेपाली कांग्रेसका अर्का सांसद मीन विश्वकर्माले सरकारले हत्या, हिंसा र मुल्य वृद्धिमा ह्राट्रिक गरेको आरोप लगाए। सरकारले मुल्यवृद्धि घटाउन नसकेको बताउँदै उनले भने, ‘सरकार आफै मूल्यवृद्धि बढाउन लागेको छ।’ ६ महिनामा ६ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि प्रति ध्यानार्काषण गराउँदै उनले बढेको मूल्यवृद्धि फिर्ता गर्न माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।