पोखरा– गण्डकी प्रदेशले इण्डानेसियामा हालै सम्पन्न एसियाली खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ खेलमा नेपाललाई रजत पदक दिलाउने पोखराका ५ जना खेलाडीसहित ३ प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने भएको छ।
गण्डकी प्रदेशको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक खेलाडीलाई एक–एक लाख र प्रशिक्षकलाई २५–२५ हजार रुपैयाँ पुरस्कारस्वरुप प्रदान गरिने निर्णय भएको भौतिक पूर्वाधार विकासमन्त्री एवम् सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।
पुरस्कृत हुने खेलाडीमा बिमल अधिकारी, विजय गौतम, युकेस गुरुङ, सुशील गुरुङ र विशाल थापा छन् भने प्रशिक्षकमा योगश भट्टराई, सानोबाबु सुनुवार र सहप्रशिक्षकमा शैलेन्द्र राउत छन्।
साथै बैठकले सरकारको कार्यक्रम र जनताको सुझावलाई मध्यनजर गर्दै ‘हेल्लो मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन निर्देशिका स्वीकृत गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।