कांग्रेसको समाजवाद कुनै वादसँग भन्दा पनि विवेकसँग जोडिएको थियो। हामीले विवेक गुमायौं। सन् १९९० पछि लागू गरिएको आर्थिक उदारीकरणको नीति कुनै पनि कम्युनिष्ट सरकारले बदल्न सकेनन्। त्यो कांग्रेसकै सोचमा आएको थियो। विश्वव्यापी सन्दर्भमा आएको थियो, जुन सोचनीय पनि छ। हाम्रो सोंचबाट आएको भए नेपालको आर्थिक दुरवस्था यति धेरै दयनीय हुने थिएन।
हामीले नै बनाएको प्रणालीका कारण वर्तमान परिस्थति आएको हो। केपी शर्मा ओली प्रधानमन्त्री बन्न आफै दोडिएर गएका होइनन्। प्रणालीले प्रधानमन्त्री भएका हुन्। कांग्रेसले बनाएकै संविधानको आडमा उनको सत्तारोहरण भएको हो। निर्वाचनबाट कांग्रेसले पनि बहुमत खोजेको हो। बहुमतको आशा कांग्रेसले पनि गरेकै थियो। कांग्रेसले सोचे अनुसार भएन। कांग्रेस बाहेकको सरकार बन्न नहुने पनि होइन। अब प्रश्न–यो सरकारलाई पाँच वर्ष काम गर्न दिने कि नदिने भन्ने हो। परिष्कृत अभ्यास गर्ने कि नगर्ने भन्ने हो।
युरोपको अभ्यास हेर्ने हो भने कतिपय देशमा दुई कार्यकाल एउटै पार्टीले सरकार सञ्चालन गर्ने गरेका छन्। टोनी ब्लेयरकै उदारहण हेर्न सकिन्छ। अमेरिकामा पनि एउटै दलले दुई कार्यकाल सरकार चलाएको छ। हामीकहाँ पनि एउटै पार्टीले दुई कार्यकाल चलायो भने आपत्ति के भो?
नागरिकका रुपमा सोच्दा कुनै समस्या देखिँदैन। स्थिरता हाम्रो दिमागमा बसिसकेको छैन। ओलीको स्थानमा कांग्रेसको प्रधानमन्त्री भएको भएपनि अवस्था यस्तै हुने थियो। अब पनि यसरी चल्न सकिन्न।
कांग्रेसमा पार्टी संस्कृति विपीले शुरु गर्नु भयोे। कम्तीमा पनि ससंदीय पार्टीको मूल्यमान्यता त कांग्रेसले ख्याल गर्नुपर्छ नि ! कांग्रेसले सबैभन्दा पहिले विपक्षीको भुमिका निर्वाह गर्न सिक्नुपर्छ। सत्ता कांग्रेसको हातमा धेरै पटक प्राप्त भयो तर निरन्तरता दिन सकेन। यसपटक कांग्रेसबाट विपक्षीको भूमिका सकरात्मक हुने अपेक्षा गरिएको थियो।
कांग्रेसका एजेन्डा नै स्पष्ट रूपमा आएका छैनन्। जनताको भोट एकातिर कांग्रेसको नेतृत्व अर्को तिर हुुनुहुँदैन। प्रतिपक्षको नेता प्राविधिक व्यक्ति मात्रै होइन। प्रतिपक्षको बेन्चमा ‘मोरल हाइट’ पनि हुनुपर्छ। सांसदको नेतृत्व सही ढंगले हुनुपर्छ। व्यक्ति को हुनुपर्छ/हुनुहुँदैन भन्ने कुरा प्रमुख विषय होइन। निर्वाचनमा हार्नु पार्टी सँधैका लागि सक्किनु होइन। नेतृत्व हारेको हो। पार्टी हारेको भए त विघटन गरिदिए भै हाल्यो। हार्ने पार्टी किन राख्ने? नेतृत्वको क्षमताका काराण मत नआएको हो। पार्टीलाई नपत्याएको होइन। यतिबेला कांग्रेसमा नैतिक बल कमजोर देखिएको छ।
कांग्रेसको संगठन पुनर्गठन गर्न जरुरी छ। मुख्यतः सदस्यतामा पुनर्गठन गर्नुपर्ने छ। कुनै नेताको भने एकैपटक पाँच सयबाट संख्या थपिदै जान्छन्। सदस्यता कब्जा प्रणाली कांग्रेसम कायमै छ। यसको अन्त्य हुनुपर्छ। म कांग्रेसको सदस्य छैन तर भोट हाल्दै आइरहेको छु। कांग्रेसमा कसले प्रतिनिधित्व गर्नुपर्छ भन्ने विषय मेरो क्षेत्रमा हुने नेतालाई मैले छनोट गर्न नपाउने?
कब्जाको प्रणाली त्याग्नैपर्छ। त्यस विषयमा कांग्रेसमा बसहै भएकै छैन। यस्तै अवस्था रहिरहने हो भने कांग्रेसलाई मैले किन भोट हाल्ने? पार्टी लोकतान्त्रिक हुन सकेन, हुँदै भएन। लोकतान्त्रिक हुने हो भने मतदाता, शुभेच्छुक, क्रियाशील सदस्यलाई महाधिवेशनको प्रयोगमा मात्रै सीमित गर्नुहुँदैन। प्रत्येक निर्वाचन क्षेत्रमा कांग्रेसभित्र खुुला बहस हुनु आवश्यक छ। क्रियाशील सदस्यताको वाहियाती प्रावधान हटाउनुपर्छ।
नेतामा आश्रित सदस्यको भीड सानो छैन। लोकतन्त्रले सबै नागरिकलाई सक्षम बनाउन चाहन्छ। आश्रित बनाउनु लोकतन्त्रको मर्यादा विपरीत छ। कांग्रेसको सदस्यता वितरण प्रक्रिया कार्यकतालाई आश्रित बनाउने प्रकृतिको छ। सच्चाउनुपर्छ। सधैँभरि पदमा रहने आकांक्षा नेताले त्याग्नुपर्छ ।
२०४६ साल आन्दोलनमा गणेशमान सिंहले के गर्नुभयो? विपि कोइरालाले प्रदिपादन गरेको कांग्रेस कम्युनिष्टबीचको फरक सम्बन्धका सन्दर्भमा सिंहले नयाँ पहल अघि ल्याउनु भएको थियो। त्यसकै परिणामले २०४६ सालको आन्दोलन सफतलाको परिणाम आयो। कम्युनिष्टसँगै हातै मिलाउन नहुने हो र? हात मिलाईसकेपछि आफ्नो बाटो कसरी तय गर्ने भन्ने पो मुख्य कुरा हो त। राजासँग हात मिलाउन हुने, कम्युनिष्टसँग नहुने?
आजका कम्युनिष्ट कम्युनिष्ट नै होइनन्। यिनको चरित्रै बेग्लै भैसक्यो। तर, त्यतिबेला गणेशमानले त्यस्तो प्रकारको पहल किन गरे होलान्? गणेशमानले कम्युनिष्टको कडा आलोचना पनि गर्नु भएको थियो। कम्युनिष्टको विश्वासै छैन पनि भन्नुहुन्थ्यो । मुलुकको आवश्यकता हेरेर हात मिलाउनु भएको थियो।
कांग्रेको लक्ष्य लोकतन्त्रको रक्षा गर्नु थियो। पञ्चायतकालमा कांग्रेस र कम्युनिष्टका नाममा धेरै पटक लडाईं झगडा हुने गर्दथ्यो। त्यसलाई चिर्दै गणेशमानले सहज वातावरण बनाउनुभएको थियो। कतिपयले भन्छन् विपी बाँचिरहेको भए, त्यसो गर्न सम्भव थियो या थिएन? कांग्रेस पछि परेपछि मात्रै कुरा उठाउन थालेको छ।
आन्दोलन सकिए लगत्तै गणेशमानले आर्थिक विकासका कुरा गर्नुभएको थियो। हामी कहाँनिर चुक्यौ? कांग्रेसले अवसर नपाएको त पक्कै होइन। कयौं पटक कांग्रेसले एकल सरकार चलाएको थियो। कांग्रेसले अवसर बनाएको समयमा आर्थिक क्रान्तिको प्याकेज बनाउनै सकेन। ती विषयमा कांग्रेसले सोच्नै सकेन। १९८० को दशकमा आइसक्दा उदारवादको जबरजस्त अभियान आइसकेको थियो। त्यसको प्रभाव नेपालमा पनि आइसकेको थियो। त्यस समय कांग्रेसको पहलमा भएको मान्ने कि ग्लोबल सन्दर्भ मिलेको भन्ने?
(गणेशमान सिंह अध्ययन प्रतिष्ठानको १६औं साधारण सभालाई प्राध्यापक कृष्ण खनालले गरेको सम्बोधनको सम्पादित अंश)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।