काठमाडौं – मेलेसियन वायु सेवा प्रदायक कम्पनी एयर एसियाले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदान गर्दै आएको सेवा बन्द गर्ने भएको छ।
कम्पनीले यात्रु नपाएको कारण देखाउँदै आगामी अक्टोबर १ बाट नेपालमा प्रवाह गर्दै आएको सेवा बन्द गर्ने जानकारी सहितको पत्र विमानस्थल कार्यालयलाई पठाएको छ।
एयर एसियाले विमानस्थल कार्यालयलाई ४० करोड भन्दा बढी रकम भुक्तानी गर्न बाँकी थियो। विमानस्थलले बारम्बार ताकेता गरेसँगै कम्पनीले करीब २२ करोड रुपैयाँ कार्यालयलाई चुक्ता गरेको थियो।
विमानस्थल कार्यालयले बाँकी रकमका लागि पटक–पटक ताकेता गरेपछि यात्रु नपाएको भन्दै सेवा बन्द गर्ने पत्र एयर एसियाले विमानस्थललाई पठाएको हो। उसले अझै पनि १८ करोड रुपैयाँ विमानस्थल कार्यालयलाई तिर्न बाँकी छ।
सेवा बन्द गरे पनि बाँकी बक्यौता जसरी पनि उठाइने विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षत्रीले बताए। ‘एयर एसिया नेपालबाट बाहिरिनु राम्रो होइन, यसले पर्यटन उद्योगमा नकारात्मक असर पुर्याउँछ’, उनले भने।
मलेसिया जाने कामदारमाथि ठगी भएकाे भन्दै नेपाल सरकारले रोजगारीका लागि मलेसिया जाने कामदारलाई श्रम स्वीकृति दिन बन्द गरेपछि एयर एसियाले नेपालबाट मलेसिया जाने कम यात्रु पाउने गरेकाे थियाे। तर, मलेसियाबाट नेपाल फर्कने कामदार भने आउने क्रम यथावत् नै छ।
नेपाल आउने प्रति पर्यटकबाट १ हजार रुपैयाँ उठाएको एयर एसियाले नेपाल पर्यटन बोर्डलाई पनि करीब ७ करोड रुपैयाँ तिर्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।