रसुवा- बहुमुल्य जडिबुटि सतुवा लोप हुनबाट जोगाउन रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसानहरू संरक्षणमा जुटेका छन्। आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर ५ का किसान बहुमुल्य जडिबुटी सतुवा संरक्षणमा लागेका हुन्।
दि माउन्टेन ईन्स्टिच्यूटको साझेदारीमा मानेकोर सोसाइटी नेपाल रसुवाले जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाका ६२ जनालाई कृषकलाई तालिम दिनुका साथै नर्सरीका लागि बीउ उपलब्ध गराएको हो। सतुवाको संरक्षण गर्न रसुवाका कृषक आकर्षित भएको मानेकोर सोसाईटी नेपाल रसुवाका कार्यकारी निर्देशक आङछिरिङ तामाङले बताए।
‘तालिममा सहभागी भएकालाई यसको महत्व, खेति गर्ने तरिका जानकारी गराउनुका साथै १० हजार ३ सय ५० वटा सतुवाको बिरुवा वितरण गरिएको छ’ उनले भने।
उक्त गाउँपालिकामा नै सतुवाका बिरुवा उत्पादन गर्न नर्सरी स्थापना गरिएको छ। लोपन्मुख सतुवाको संरक्षणका लागि व्यवसायिक जडिबुटी खेतीले जीविकोपार्जन सुधारका साथै परिवर्तित जलवायु अनुकुल आयआर्जनमा समेत सहयोग पुर्याउने विश्वास गरिएको छ।
सतुवा र अन्य जडिबुटीको नर्सरी स्थापना संगै अध्ययन, अवलोकनका निम्ति प्रर्दशनमुलक नर्सरी स्थापना भएको मानेकोर सोसाईटी नेपाल रसुवाले जनाएको छ।
जडीबुटी प्रजातिमा पर्ने सतुवाले पायल्स, मुटुको रोग, हाडजोर्नी, ढाड दुख्नेजस्ता २० प्रकारका रोगको असर न्यूनीकरण गर्न प्रयोग हुने र महँगो मूल्यमा बिक्री गर्न सकिने बताइएको छ।
लोपोन्मुख अवस्थामा पुगेका बहुमूल्य जडिबुटीको संरक्षण गर्न जिल्लाको आर्थिक विकासमा सहयोग पुग्ने निश्चित छ। पछिल्लो समय जडिबुटीले बजार नपाएको भन्दै जिल्लाका किसान जडिबुटिको खेती गर्नबाट हट्न थालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।