रसुवा- एक महिनादेखि अवरुद्ध धुन्चे–स्याफ्रु–रसुवागढी सडक रुचारु भएको छ। बर्षायामसँगै बाढी तथा पहिरोले क्षति पुर्याएको पासाङल्हामु राजमार्गको धुन्चे–रसुवागढी सडकखण्ड मंगलबारदेखि सुचारु भएको हो।
अवरुद्ध सडक मर्मत सम्पन्न भएसँगै नेपाल र चीनबीच संचालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीमा साना तथा ठुला सवारी साधन संचालनमा आएका छन्। नाकामा सवारी साधन, व्यापारी तथा व्यवसायीको चाप बढेको नेपाल सीमापार व्यापार संघका अध्यक्ष कामिनुर्पू तामाङले बताए। उनले भने ‘बाटो नभएपछि नाका सुनसान थियो, बाटो खुलेपछि फेरि चहलपहल सुरु भएको छ’।
धुन्चेदेखि रसुवागढीसम्मको ३० किलोमिटर कच्ची सडकको एक स्थानमा पहिरो र तीन स्थानमा बाढीले क्षति गरेको थियो। गत साउन ११ गते बाढीले घट्टेखोलामा रहेको पुलमा क्षति गरेपछि सवारी आवागमनमा रोक लगाइएको थियो।
सडक सुचारु भएसँगै ६४ वटा साना–ठुला कन्टेनर सीमा नाकामा गएका छन्। भने ६८ वटा कन्टेनर काठमाण्डौतर्फ प्रस्थान गरेको प्रहरी नायव निरीक्षक ओमप्रकाश वाग्लेले बताए। उनले भने ‘साँझबाट सवारी सञ्चालन भएका कारण आज सवारी सञ्चालन कम भयो, बुधबार बिहानबाट सवारी सञ्चालनको चाप बढ्छ’।
चीनको केरूङमा करीव डेढ सय कन्टेनर सामग्री लोड गरेर बसेको व्यापारीले बताएका छन्। सडक अवरुद्ध हुदा रेडिमेट सामग्री बोकेका गाडी चीनतर्फ रोकिएका छन्। सडक अवरुद्धका भएका कारण करीव २५ दिनसम्म राजश्व सङ्कलन नहुँदा करोडौँ रुपैयाँ घाटा भएको थियो।
धुन्चेदेखि रसुवागढीसम्म अवरुद्ध सडक सुचारु गर्न सडक कार्यालय, नेपाली सेनाको मैलुङ स्याफ्रुबेँसी निर्माण कार्यदल, हेटौंडाबाट आएको नेपाली सेनाको टोली, कालीजंग गण र रसुवागढी जलविद्युत् आयोजनाको संयुक्त प्रयासमा बाटो सुचारु भएको हो।
भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट सामग्री आयात तथा निर्यात हुँदै आएको छ। रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरेको छ। २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सयभन्दा बढी सवारी साधन आवतजावत गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।