काठमाडौं– चालू आर्थिक वर्षको पहिलो महिनामा नै विभिन्न वस्तु आयातका लागि १ खर्ब २० अर्ब ६१ करोड रुपैयाँ विदेशिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत साउन महिनामा नेपालबाट ६ अर्ब ९२ करोड १५ लाख रुपैयाँ बारबारका सामान मात्र निर्यात भएको छ। यस अवधिमा नेपालले निर्यातभन्दा १ खर्ब १३ अर्ब ६८ करोड रुपैयाँ बढीका सामान आयात गरेको छ।
विभागका अनुसार साउन महिनामा नेपालले भारतबाट सबैभन्दा बढी ७१ अर्ब ३० लाख रुपैयाँ बराबरको सामान आयात गरेको छ। सोही अवधिमा नेपालले भारतमा जम्मा ३ अर्ब ९८ करोड रुपैयाँ बराबरका सामान निर्यात गरेको छ।
उक्त अवधिमा नेपालले चीनबाट १४ अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको समान आयात गरेको छ। करीव ८ करोड ५१ लाख रुपैयाँ बराबरको सामान नेपालले चीनतर्फ निर्यात गरेको छ। त्यस्तै फ्रान्सबाट १२ अर्ब ८२ करोड रुपैयाँ बराबरको समान आयात भएको छ।
अदुवा र लसुनमा मात्रै बाहिरियो ४४ करोड
चालु आर्थिक वर्षको पहिलो महिनामा ४४ करोड ७ लाख ४१ हजार रुपैयाँ बराबरको लसुन र अदुवा भित्रिएको छ। सबैभन्दा बढी भारतबाट ३७ करोड ४५ लाख ९४ हजार रुपैयाँ बराबरको लसुन आयात भएको छ। यसैगरी भारतबाट ७४ लाख रुपैयाँ बराबरको अदुवा आयात भएको छ। यस अवधिमा चीनबाट ५ करोड ५९ लाख ४५ हजार रुपैयाँ बराबरको अदुवा आयात भएको छ।
कुन देशबाट कति रकमको आयात?
- भारत– ७१ अर्ब
- चीन– १४ अर्ब ९३ करोड
- फ्रान्स– १२ अर्ब ८२ करोड
- यूएई– २ अर्ब १८ करोड
- क्यानडा– १ अर्ब ९७ करोड
- स्विजरल्यान्ड– १ अर्ब ४७ करोड
- थाइल्यान्ड– १ अर्ब २० करोड
- अर्जेन्टिना– १ अर्ब १२ करोड
- मलेसिया – ९६ करोड
- साउथ अफ्रिका – ९२ करोड १७ लाख
- साउदी अरेबिया – ९१ करोड ६६ लाख
- टर्की – ८७ करोड ९७ लाख
- यूक्रेन – ८६ करोड ६९ लाख
- इन्डोनेसिया – ८४ करोड ८ लाख
- अमेरिका – ८१ करोड ८ लाख
- कोरिया – ७६ करोड ६४ लाख
- भियतनाम – ७४ करोड २९ लाख
- अस्ट्रेलिया – ६३ करोड ६५ लाख
- जर्मनी – ६१ करोड ४० लाख
- ताइवान – ४९ करोड ३२ लाख
- जापान – ४५ करोड ८ लाख
- अन्य – ५ अर्ब ९४ करोड
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।