काठमाडौं– मान्छेलाई सपनाले लखेटेपछि कसको के लाग्छ र? एलिजा गौतमका हकमा पनि भयो यस्तै। उनको अन्तस्करणमा परिचय बनाउने हुटहुटीको बिऊ उम्रियो। र, विस्तारै हुर्कदैँ आयो।
‘यस्तै सपनाले मलाई फिल्मको पर्दामा उतारेको हो’ फिल्म अनुरागको प्रचारप्रसारमा खटिइरहेकी अभिनेत्री गौतमले भनिन्, ‘मान्छेहरु मलाई पत्रकार ऋषी धमाला पत्नी भन्छन्, म मेरो आफ्नै परिचय बनाउन चाहन्छु।’
त्यसो त एलिजाको फिल्मी सपना पुरा गर्न पत्रकार ऋषी धमलाले आर्थीक लगानी नै गरेका छन्, फिल्म अनुगरागमा। एलिजाका शब्दमा श्रीमान धमलाको यो एउटा सहयोग थियो तर अबको बाटो भने उनी आफैं हिँड्नुपर्ने छ। ‘उहाँको सहयोग रह्यो, तर अभियनको दुनियाँमा मैले नै केही गर्नुछ’ उनी आशावादी छिन्, ‘सफलताको शीखर आफैं चुम्नु पर्छ।’
एलिजा अभिनित फिल्म १२ असोजमा प्रदर्शन हुने छ। सोही मितिमा ठूलो ब्यानरका दुई फिल्म ‘कथा काठमाडौं’ र ‘छिरिङ’ एकसाथ हलमा लाग्दैछन्। यसले सफलताको सपना देखिरहेकी एलिजालाई रजतपटीय यात्रा सहज छ भन्ने लागेको छैन। यद्यपी उनले सबै चुनौती सामना गर्न आफू तयार भएको बताएकी छिन्।
‘कुनै पनि क्षेत्रमा प्रतिश्पर्धा हुन्छ तर आफू त्यसका लागि तयार हुनुपर्छ भन्ने मलाई राम्ररी थाहा छ’ सिनेमा सार्वजनिक हुने मिति नजिकिँदै गर्दा आफूमा एक प्रकारको कौतुहल र प्रतिश्पर्धी भावना जागृत भएको बताइन्, ‘रमाइलो पनि महसुस भइरहेको छ।’
नेपाली हलहरुमा बर्षेनी ९० भन्दा बढि फिल्महरु प्रर्दशनमा आउँछन्। तीमध्ये १० प्रतिशतले पनि सफलता प्राप्त गर्न नसकिरहेको सन्दर्भमा एलिजाको ‘अनुराग’का लागि गरिएको पौने २ करोडको लगानी उठाउँन जति चुनौती छ त्यतिनै एलिजाले खोजेको परिचय प्राप्त गर्न।
‘संघर्ष गर्ने हो, अरु कुरा समयलाई छाडिदिउँ’ उनले भनिन्, ‘सबैलाई मेरो फिल्म हेर्न आग्रह गर्नु बाहेक अहिले मसँग अरु कुरा छैनन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।