गाडीको इन्जिन सफा गर्ने अत्याधुनिक प्रविधि अब नेपालमा

Nepal Live


काठमाडौं । के गाडीमा इन्जिनको समस्याका कारण तपाईंले हैरानी खेप्नु भएको छ ? अब चिन्ता नलिनुस् । अब नेपालमै गाडीका इन्जिन सफा गर्ने अत्याधुनिक प्रविधि भित्रिएको छ । ‘एच टू क्लिन’ मेसिनको सहायताले अब तपाईंले एक घण्टामै आफ्नो गाडीको इन्जिन सफा गर्न सक्नुहुन्छ । 

दुर्गा इन्जिनियर्सि एण्ड अटो वर्कस् प्रालिले गाडीको इन्जिन सफा गर्ने यस्तो प्रविधि नेपालमा भित्र्याएको हो । नेपालमा पहिलोपटक यस्तो प्रविधि भित्र्याएको दावी कम्पनीले गरेको छ । यो फ्रेन्च प्रविधिमा आधारित छ । 

मंगलवार एक कार्यक्रमको आयोजना गरी कम्पनीले उक्त प्रविधिको उद्घाटन गरेको हो । 

‘एच टू क्लिन’ मेसिनले गाडीको पार्टपूर्जा नखोली इन्जिन सफा गर्ने कम्पनीका सञ्चालक शंकर घिमिरेले बताए । हाल डिजेल ट्याङ्कमा ‘लिक्विड’ हालेर यस्तो इन्जिन सफा गरिँदै आएको छ । 

यो मेसिनको सहायताले मोटरसाइकलदेखि मिनिबससम्मको इन्जिन सफा गर्ने कम्पनीले जनाएको छ । 

परिस्कृत प्रविधि भएकाले ‘एच टू क्लिन’ मेसिनबाट इन्जिन सफा गर्दा सवारीले परम्परागत प्रविधिको तुलनामा थप ‘माइलेज’ दिने कम्पनीका सञ्चालक घिमिरेले बताए । 

यो प्रविधिबाट मोटरसाइकल, टेम्पो, मिनिबसदेखि हवाइजहाजको मोटरसम्म सफा गर्न सकिनेछ । 

परम्परागत प्रविधिको तुलनामा प्रभावकारी रुपमा इन्जिन सफा गर्ने भएकाले ‘एच टू क्लिन’ प्रविधि अपनाउँदा वायु प्रदूषणमा पनि न्यूनीकरण आउने कम्पनीका सञ्चालक घिमिरे बताउँछन् । यो मेसिन सानो र हलुका भएकाले सवारीमा सँगै बोकेर हिँड्नसमेत सकिनेछ । 

‘हामीले लामो अध्ययनपछि यो प्रविधि नेपाल भित्र्याएका हौं,’ उनले भने । भारत, बर्मा र नेपालका लागि कम्पनीले यो प्रविधि भित्र्याएको सञ्चालक घिमिरेले बताए । पछिल्लो समय फ्रान्समा यो प्रविधिको प्रयोग अत्यधिक हुन थालेको छ । 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार