काठमाडाैं– बिम्स्टेक सदस्य राष्ट्रको संयुक्त सैन्य अभ्यासको चौतर्फी विरोध भएको छ।
भदौ २५ गतेबाट भारतको पुनेमा आयोजना हुने सैन्य अभ्यासले नेपालको तटस्थ परराष्ट्र नीतिमा आघात पर्ने भन्दै विज्ञहरूले सैन्य अभ्यासमा भाग नलिन सरकारलाई सुझाव दिएका छन्। काठमाडौंमा सम्पन्न चौथो बिम्स्टेक शिखर सम्मेलन लगत्तै बिम्स्टेक सदस्य राष्ट्रबीच सैन्य अभ्यास हुन लागेको हो।
भारतीय संचार माध्यम ‘द हिन्दु’ले जेष्ठ २८ गतेको अंकमा बिम्स्टेक सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यास हुने उल्लेख गरेकाे थियो। भारतीय संचार माध्यमलाई उधृत गर्दै नेपाली संचार माध्यममा पनि सैन्य अभ्यासका विषयमा समाचार प्रकाशनमा अाएकाे थियाे।
तर, बिम्स्टेक शिखर सम्मेलनको उद्घाटन सम्बोधनमा भारतीय प्रधानमन्त्री मोदीले संयुक्त सैन्य अभ्यासको कुरा उठाएपछि नेपालमा यस विषयमा विभिन्न कोणबाट टीकाटीप्पणी सुरु भएको छ।
भारतीय सञ्चार माध्यमले संयुक्त सैन्य अभ्यासलाई ‘वार गेम’को संज्ञा दिएको छ भने सरकारले सैन्य अभ्यासलाई प्रति–आतंकवाद विरुद्ध र प्राकृतिक प्रकोपमा उद्दार गरिने सैन्य अभ्यासका रुपमा व्याख्या गरेको छ।
नेपालले संयुक्त राष्ट्र संघअन्तर्गत द्विपक्षीय रुपमा मात्र सैन्य अभ्यास गर्ने गरेको बताउँछन् सुरक्षाविद् तथा अवकाश प्राप्त जनरल डा. प्रेमसिंह बस्नेत। उनी भन्छन्, ‘बिम्स्टेक सदस्य राष्ट्रबीचको सैन्य अभ्यास बहुपक्षीय सैन्य अभ्यास हो। यस प्रकारको अभ्यासमा भाग लिने नेपाली सेनाको परम्परा रहेको पाइँदैन। सरकारको सैन्य अभ्यासमा भाग लिने निर्णय संशयपूर्ण रहेको छ।’
नेपालले एउटा छिमेकीलाई खुशी पार्न खोज्दा अर्को छिमेकीलाई असर पर्ने काम गर्न नहुने उनको तर्क रहेको छ।
यस्तै नेकपाका सांसद तथा सुरक्षाविद् दीपकप्रकाश भट्ट पनि बिम्स्टेक सदस्य राष्ट्रको संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी हुने विषयमा सन्तुष्ट छैनन्। ‘यस्तो विषयमा निर्णय गर्दा राष्ट्रिय सहमतिको आवश्यकता हुन्छ तर सरकारले पार्टीभित्रै पनि छलफल नगरी अभ्यासमा सहभागी हुने निर्णय लिनु राम्रो विषय होइन’ उनले भने, ‘नाटोपछि यो दोस्रो सैन्य संगठनको रुपमा अघि आएको छ।
नेपालले आफ्नो परराष्ट्र नीतिमा असंलग्न राष्ट्रले अंगीकार गरेको पञ्चशीलको सिद्धान्तलाई मार्ग दर्शनका रुपमा लिएको परिपे्रक्ष्यमा कुनै सैन्य संगठनको सदस्य हुनु नेपालको लागि हानी हुनसक्ने तर्फ सरकार सचेत हुनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।