काठमाडौं- बालबालिकाका लागि अभिनय सम्बन्धी विषेश तालिम दिने उध्येश्यले सुरु गरिएको 'लालाबाला'का बालकलाकारहरू पोल्याण्डमा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुँदैछन्!
नेपालको प्रतिनिधित्व गर्दै रङ्गकर्मी टङ्क चौलागाईंको नेतृत्वमा 'लालाबाला' का १० जना बालबालिकाहरूको टोली अहिले 'थिएटर ब्रामा' को 'द ह्युमन मोजाइक' अन्तर्राष्ट्रिय महोत्सवमा भाग लिनको लागि पोल्याण्डको गोलोनियो पुगेका छन्।
विभिन्न २४ देशका अभिनय टोलीले सहभागिता जनाएका छन्। महोत्सवमा सहभागी हुन 'हिरोज् डोन्ट कम' नाटकका लेखक तथा निर्देशक प्रकेश सिन्धुलीय र महिला शिक्षकसहित अन्य दस जना गोलोनियोमा अभ्यासरत छन्। काठमाडौं प्रज्ञा कुञ्ज स्कुलसँगको सहकार्यमा स्कुल थिएटर नेपालले लालाबालाको टोलीलाई दुई हप्ते भ्रमण गराएको हो।
विभिन्न नेपाली नाटकहरू तथा जात्रा, दुई रुपैयाँलगायतका चलचित्रमा अभिनय गरेका अरबिन खड्कासँगै अभिनित चौलागाईं, प्रेक्षा कार्की, सार्थक श्रेष्ठ, सिजन बस्नेत, दीप्सना चौधरी, कश्यप ज्ञवाली, अद्वैत थापा, शिविका खड्का र उदिती मण्डलले महोत्सवमा प्रस्तुति दिने भएका छन्। गत बुधबार नेपाली पोशाकमा ठाँटिएर 'मल्टी कल्चरल नाइट' मा नेपालका विभिन्न चर्चित र मौलिक गीतहरूसँगै नाचगान गरेर चर्चा बटुलेपछि टोली थप उत्साहित भएको जानकारी टङ्क चौलागाईंले जानकारी दिए। 'नेपालको प्रतिनिधित्व गर्दै टालीले आइतबार नाटक प्रदर्शन गर्नेछ। हामी सबैको लागि यो गौरवको विषय हो' उनले भने।
नाटक 'हिरोज डोन्ट कम' केही महिनाअघि थापागाउँस्थित कुञ्ज थिएटरमा नियमित मञ्चनसमेत गरिएको थियो। वास्तविक हिरोको खोजी गर्दै चलनचल्तीको 'हिरो' को परिभाषालाई परिमार्जन गर्नतर्फ लक्षित सो नाटक 'थिएटर ब्रामा' मा आइतबार दिउँसो मञ्चन गरी टोली स्वदेश फर्किनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।