जकार्ता (इन्डोनेसिया)- 'क्यान आई हेल्प यू?' बुङ कार्नो रंगशालाबाहिर भेटिएकी २० वर्षीया क्लारिन्टा फित्रिसियाले मुस्कानसहित सोधिन्।
मैले आफ्नो कुरा राखेँ। उनले खुसीसाथ स्वागत गरिन्। र, उस्तै मुस्कान बोकेर अरु अतिथिको सत्कारमा लागिन्।
क्लारिन्टा जस्ता १३ हजार स्वयंसेवक खटिएका छन्, १८औं एसियाली खेलकुदमा। इन्डोनेसियाको राजधानी जकार्ता र पालेङवाङ सहरमा भइरहेको एसियाली खेलकुद यतिबेला समापनको तयारीमा छ। मध्य जाकर्ताको गेलोरा बुङ कार्नोको मुख्य रंगशालामा आइतबार हुने समापन समारोहलाई भव्य पार्न आयोजकले तयारी गरिरहेका छन्। जसमा स्वयंसेवकको भूमिका पनि महत्वपूर्ण छ।
उनीहरु ३ खालका छन्। पहिलो पर्सनल एसिस्टटेन्ट (पिए) हुन्। उनीहरुले निलो टिसर्ट लगाका छन्। अफिसियलहरुको कार्यतालिका मिलाउने उनीहरुको काम हो। दोस्रो स्वयंसेवक हुन् एनओसी। पहेँलो टिसर्ट लगाउने उनीहरुको मुख्य काम भिआइपीलाई सूचना दिने तथा गाइड गर्ने हो।
४५ देशका ११ हजार ७ सय खेलाडीले ४० खेलको ४६२ स्वर्णका लागि प्रतिस्पर्धा गरेको एसियाली खेलकुदलाई सफल बनाउन यी स्वयंसेवक अहोरात्र खटिइरहेका छन्। प्रत्येक ठाउँमा हँसिलो मुहार लिएर खेलाडी, प्रशिक्षक, अफिसियल, पत्रकार र दर्शकको सेवामा हाजिर भइहाल्ने उनीहरुले योगदानले एसियाली खेलकुदको शोभा बढाएको छ। एक्रिडिएसन कार्ड भिरेका जो कोही भेटे पनि सेवा गर्न हाजिर भइहाल्छन् उनीहरु। सकेको सबै जानकारी दिन्छन्। समस्या समाधानका लागि अन्तिमसम्म प्रयास गर्छन्।
एसियन गेम्समा बढी मात्रामा खटिएका स्वयंसेवक हुन्, 'रेगुलर स्वयंसेवक'। रातो, टिसर्ट लगाएर उपस्थित हुने उनीहरु प्रत्येक भेन्यूमा खटिएका हुन्छन्। खेलाडी, अफिसियल, पत्रकार र दशर्कको व्यवस्थापन गर्नेदेखि सूचना दिने काम उनीहरुले गरिरहेका छन्। सूचना प्रविधि, यातायत, मिडियाको व्यवस्थापन गर्ने काममा पनि उनीहरुको भूमिका छ।
स्वयंसेवकका लागि छुट्टाछुट्टै विभाग निर्माण गरिएको छ। जसमा जेनेरल अफेयर, स्पोर्ट, भेन्यू, डोपिङ एन्ड मेडिकल, एक्रिडिएसन, आइआर प्रोटोकल एन्ड हस्पिटालिटी, एकोमोडेनस एन्ड क्याटरिङ, एथ्लेट भिलेज छन्।
मुख्य मिडिया सेन्टर (एमएमसी) मा काम गर्ने स्वयंसेवकका संयोजक राफा रोहिन्याका अनुसार सबै स्वयंसेवकले पकेट खर्चस्वरुप प्रत्येक दिनको पैसा पाउँछन्। उनले यत्ति भने, 'सबैले पकेट खर्च पाउँछन्। त्यो भनेको न्यूनतम ३ लाख इन्डोनेसिया रुपैयाँ (नेपाली २४ सय) हुन्छ।' दैनिक ८ घन्टा काम गर्ने उनीहरुलाई आयोजकले खानाको पनि व्यवस्था गरेको छ।
एसियाली खेलकुदलाई सफल बनाउनका लागि स्वयंसेवकको भूमिका हुने राफा बताउँछन्। 'एसियाली खेलुकदलाई सहज रुपमा सम्पन्न गराउने स्वयंसेवक एउटा हिस्सा हो,' उनले भने, 'एसियन गेम्स राम्रो र उत्कृष्ट बनाउनका लागि खेलाडी र प्रशिक्षक पत्रकारलाई सूचना दिएर सहज बनाउने हाम्रो मुख्य काम हो।'
आफूहरुले ८ महिना अघिदेखि प्रशिक्षण लिएको उनको भनाइ छ। 'सुरुमा आधारभूत प्रशिक्षण लियौं। त्यसपछि मिनिङ अफ स्पर्टको बारेमा जानकारी लियौं, जहाँ एसियन गेम्स र यसको महत्वको बारेमा बुझाइएको थियो,' उनले भने।
उनले एसियाली खेलकुदले देशको अर्थतन्त्रलाई पनि सहयोग पुग्ने विश्वास गरेका छन्। देशमा भइरहेको मेघा इभेन्टको हिस्सा बन्न पाउनु गर्वको विषय भएको उनले बताए। 'हामी अहिले कम आय भएको मुलुकबाट मध्यम आय भएको मुलुकमा रुपान्तरित भइरहेका छौं। एसियन गेम्सले हाम्रो अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको जस्तो लागेको छ,' उनले थपे, 'हामीलाई एसियन गेम्सको स्वयंसेवक बनेर काम गर्न पाउँदा धेरै गर्व लागेको छ।'
देशमा आएका अतिथिलाई सहयोग गर्न पाउँदा धेरै उत्साहित भएको उनी बताउँछन्। 'हामीले देशबाहिरका मानिससँग कुरा गरेर अनुभव साट्न पाएको छौं। हाम्रो लागि पनि यो ठूलो उपलब्धि हो,' उनले खुसी व्यक्त गरे।
बुङ कार्नो रंगशालामा स्वयंसेवको भूमिकामा रहेकी क्लारिन्टा फित्रिसिया पनि निकै हर्षित छिन्। 'एउटा ठूलो कामको हिस्सा बन्न पाउँदा खुसी लागेको छ। खेलकुद के हो भन्ने कुरा एसियाली खेलकुदले सिकायो,' उनले अनुभव सुनाइन्, 'देशका लागि योगदान दिएको जस्तो लागेको छ।'
देश र विदेशका स्टार खेलाडीसँग भेट्न पाउनु पनि आफ्ना लागि नसोचेको उपलब्धि रहेको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।