काठमाडौं- जीवनको बाटोमा अनेक पात्र आइरहन्छन् र गइरहन्छन्। भेटिने सबैलाई फर्केर हेर्न मन लाग्दैन। केही पात्र यस्ता भेटिन्छन्, जसलाई फर्केर नहेरी बस्नै सकिन्न।
पोखराका अर्जुन भण्डारी त्यस्तै पात्र हुन्।
जब–जब निराशाको बादलले मन डमक्कै ढाक्छ, तबतब उनको अनुहार आँखामा नाच्न थाल्छ। धरमराइसकेको आत्मबल बौरिन थाल्छ।
२० वर्षको उमेरमा मैले उनलाई एउटा दःखद् समाचारका पात्रका रुपमा भेटेको थिएँ। एउटा नराम्रो दुर्घटना, त्यसको उपचारका क्रममा पाएका दुःख र आफ्नै साहसले फर्काएको उनको जीवनको कथालाई मैले एउटा रिपोर्टिङमा उनेको थिएँ। उनको कथाले नेपालका केही निजी अस्पतालको उपचार प्रक्रियामाथि धारिलो हँसिया जस्तै प्रश्न चिह्न खडा गरेको थियो।
दुई वर्षअघि उनलाई पहिलोपल्ट भेट्दा शारीरिक रुपमा तंग्रिने क्रममै थिए तर मन पूरापूर तंग्रिसकेको थियो। उनीसँगको भेटपछि ‘एउटा साहसी युवाको कथा’ लेख्न मन लागेको थियो। तर, रिपोर्टिङको पाटो अर्कै थियो। मैले त्यही घटनालाई रिपोर्टिङ बनाएँ। त्यसको एक वर्षपछि मैले उनलाई फेरि भेटेँ, त्यो बेला उनी आफ्नै व्यवसाय सुरु गर्ने सपना रोप्दै थिए। सपनाको आकार ठूलै थियो। मध्यम वर्गीय परिवारका उनी नौ करोड रुपैयाँको लगानीमा रिसोर्ट खोल्न लागिपरेका थिए। पुर्ख्यौली जायजेथा बैंकमा राखेर उनी लगानी गर्न तम्सिएका थिए।
केही महिनाअघि म अर्कै कामले पोखरा पुगेको थिएँ। राजमार्गको छेउमै रहेको उनको सपना त रंगीन फूलजस्तै फुलिसकेछ। निलो भुइँ र पहेँलो भित्ता फूलभन्दा कम देखिएन। गाडी रोकेर म अघि बढेँ। सडकबाटै देखेँ, त्यसभित्र पस्ने गेटको ब्यानरमा लेखिएको ‘सेभेन वन्डर्स वाटर पार्क एन्ड रिसोर्ट प्रालि’।
पोखरा सात वटा तालका लागि चर्चित भएका कारण उनले रिसोर्टको नाम ‘सेभेन वन्डर्स वाटर पार्क’ राखे। यो नाम भने उनकी दिदीले सुझाएकी थिइन्।
सन् २०१६ जनवरीमै उनले यसका लागि काम थालेका थिए। अघिल्लो वर्ष आंशिक पूरा भएको उकोको व्यवसायले यसपल्ट त पूरै आकार लिइसकेछ। त्यहीँ पौडिरहेका एक युवाले सुन्दर नगरी पोखराकै सुन्दर स्विमिङ पुलको रुपमा लिइने बताएपछि मन त्यसै फुरुंग भयो। किनभने अघिल्ला भेटमा अर्जुनले भनेका थिए, ‘स्विमिङ पुल बनाउने गुणस्तरीय सामान नेपालमा नभएपछि भारतबाट मगाएको छु। खर्च लागे पनि सफा र सुन्दर स्विमिङ पुल बनाउँछु।’ स्विमिङ पुलसँगै रेस्टुरेन्ट पनि रहेछ। साथी र मैले त्यहीँ खाजा खायौं। स्वादमा अर्जुनको मेहनत मगमगायो।
माइक्रोबायोलोजीका विद्यार्थी अर्जुन ‘हस्पिट्यालिटी’ व्यवसायतिर सानैदेखि आकर्षित भएको बताउँथे। उनले युट्युबमै हेरेर उत्कृष्ट स्विमिङ पुलको आइडिया लिए। त्यही हेरेर अन्तर्राष्ट्रियस्तरको स्विमिङ पुलका लागि आफैंले इन्जिनियरिङ गरे। उनले अघिल्ला भेटमा भनेका थिएँ, ‘पोखरा टुरिस्टहरु आइरहने सहर हो। तर, उनीहरुका लागि राम्रो स्विमिङ पुल पोखरा भरिमै देख्दिनँ। त्यसपछि म आफैं अघि सर्दैछु।’
रिसोर्ट साढे सात रोपनी जग्गामा फैलिएको छ। स्विमिङ पुलका साथै रिसोर्ट, सय जना अटाउने सभाहल, आइसक्रिम पार्लर र लञ्च बारसमेत छन्। स्थानीयका साथै विदेशी सेवाग्राहीको समेत बाक्लै उपस्थिति देखिन थालिसकेको छ।
उनको स्विमिङ पुलमा पौडिने आउने युवा गर्मीले तातेको ज्यानलाई ठन्डा बनाएर मात्रै जाँदैनन्। जीवनको सागरमा पौडिने धेरथोर साहस समेत उनीबाट लिएर जान्छन्।
सानो चोट, अलिकति धोका खानेबित्तिकै हतोत्साही हुने उमेरका यी युवाले १९ वर्षकै उमेरमा जीवनमरणसँग संघर्ष गरे। स्कुटर दुर्घटनामा परेर घाइते भएका उनी नेपालको अव्यवस्थित उपचार प्रणालीको सिकार भए। झन्डैझन्डै ज्यानकै आशा मार्ने अवस्थामा पुगेका उनले आफैंले आफूलाई ‘रेस्क्यु’ गरे। जीवनलाई त्यसरी जोगाए पनि उनले एउटा खुट्टा जोगाउन सकेनन्। खुट्टा गुमे पनि साहस गुमाएनन्।
जीवनलाई उभ्याउन जोर खुट्टा होइन, एक थान हिम्मत चाहिन्छ भन्ने कुरालाई उनले प्रमाणित गरिदिएका छन्। एउटा खुट्टा गुमाएको दुई वर्षमै जीवनका म्याराथनमा आफूलाई अब्बल प्रमाणित गरिदिएका छन्। भर्खरै युवा व्यवसायीहरुलाई दिइने ग्लोबल इन्टरपेनरसिप नेपाल अवार्डमा उनी दोस्रो भए।
अल्लारे उमेरको अर्जुनको सपनामा परिपक्व व्यावसायिक सोच देख्ने उनका आमाबुवा कौशल्या र शिवरामको भूमिकालाई पनि बिर्सिनु हुँदैन। उनीहरुले कहिल्यै भनेनन्, ‘तँ सक्लास् र?’ तर, सधैं भनिरहे, ‘अघि बढ्, हामी छँदैछौं।’ भरोसा गर्ने परिवारको कारण आफू यो अवस्थासम्म आइपुगेको अर्जुन बताउँछन्। अरु युवाका अभिभावकलाई पनि शंकाभन्दा बढी भरोसा गर्न आग्रह गर्छन्। उनीलाई लाग्छ, ‘आफ्नै अभिभावकले सन्तानको क्षमतामाथि शंका गर्छ भने पराइले कसरी भरोसा गर्लान् ?’
ऊर्जावान् युवाहरु विदेशिनु हुन्न भन्ने धारणाका पक्षपाती उनी नेपालमै केही गर्न अरुलाई पनि उक्साउँछन्। उदाहरणमा आफ्नै व्यवसायिक सफलतालाई अघिल्तिर राखिदिन्छन्। एक भेटमा उनले भनेका थिए, ‘युवा र विद्यार्थी विदेश पठाउनका लागि गाउँ–गाउँमा कन्भिन्स गर्ने एजेन्ट छन्। सहरमा म्यानपावर र कन्सल्टेन्सी छन्। तर, युवालाई यही देशमा केही गर्नुपर्छ भनेर उत्प्रेरित गर्ने कोही छैन। सरकारले युवालाई कन्भिन्स गर्ने काउन्सिलको विकास गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।