महिला हिंसाको विषय उठान गर्ने बित्तिकै समाजमा महिलावादी भनेर बुझ्ने गरिन्छ। कतिपय सन्दर्भमा महिलाको पक्षमा बोल्ने वा लेख्ने पुरुषलाई नै समेत पनि गलत मनसायले हेरिने गरेको यथार्थता पनि यदाकदा सुन्न पाइन्छ। तर जे होस्, महिला हिंसा न्यूनीकरण गर्ने प्रयास गर्नु सचेत नेपालीको दायित्व हो।
बङ्गलादेशमा मेडिकल शिक्षा अध्ययन गर्ने नेपाली चेलीका विषयमा केही समय पहिले तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङको अभिव्यक्ति विवादास्पद र भाइरल बन्यो। सार्वजनिक पद धारण गरेको राजनैतिक नेतृत्वले दिएको अभिव्यक्ति अपमानजनक मानियो। महिला अधिकारवादीले चर्को विरोध गरे। अन्ततः राजीनामा दिन बाध्य भए उनी। यही सन्दर्भमा बिएमसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईका विरुद्धमा पनि सडक र सदनमा आवाज उठ्यो। तर उनी कुनै कारबाहीको घेरामा परेनन्।
२०७५ जेष्ठ २२ देखी लेडीजेसीस इटहरी र पल इन्टरटेन्मेन्टले इटहरीमा मिस सुनसरी प्रतियोगिताको आयोजनामा ग¥यो। आयोजकसमेत रहेको पल इन्टरटेन्टमेन्टका अध्यक्ष अमीत पौडेलले प्रतियोगी युवतीको संवेदनशील अङ्गमा छुने र अश्लील शब्दले सम्बोधन गरेर ‘सेक्सुअल ह्यारेस्मेन्ट’ गरेको कुरा सार्वजनिक भयो। लेडी जेसीस र पल इन्टरटेन्टमेन्टले घटना भित्रभित्रै लुकाउने प्रयास गरे। पीडित युवतीहरू पनि समाजमा बदनाम हुने भयको कारण खुलेर बोल्न सकेनन्। अन्ततः घटना सार्वजनिक भयो र कार्यक्रम समेत स्थगित भयो।
माथिका दुवै घटनामा समाजका प्रतिष्ठित भनिएका व्यक्तिको संलग्नता छ। समाजमा राम्रो नाम चलेका अनुहारबाट नै महिलाको विषयमा गरिएका असामाजिक व्यवहार हाम्रो समाजको चरित्रचित्रण गर्ने ऐना हो। यत्ति हेरे हाम्रो समाजका धेरै कुरा बुझ्न गाह्रो छैन।
महिला अधिकारको वकालत गर्ने र समाजमा शान्ति स्थापना गर्ने भनिएका संस्था घटना ढाकछोप गर्न खोज्नु र पीडकको बचाउमा लाग्नु लाजमर्दो विषय हो।
समाजमा आदर्शका रुपमा लिइने यस्ता घटनाले हाम्रो सामाजिक मर्यादाको खिल्ली उडाइरहेको छ। समाज विज्ञानको अवधारणामा शासकहरू सजिलै परिवर्तन हुन सक्छन्, अथवा गर्न सकिन्छ। शासनशैली परिवर्तन हुन थोरै समयले पुग्दैन।
नेपाली समाजमा शासकहरू परिवर्तनको सिलसिला चलिरहेकै छ। तर शासनशैली भने परम्परागत ढंगबाट नै अगाडि बढिरहेको देखिन्छ।
पितृसत्ताले सुरुदेखि नै समाजमा शासन गरिरहेको छ। महिलामाथि दमन गर्न उसको श्रम, शरीर र क्षमतामाथि नियन्त्रण गरिहेको छ पितृसत्ताले। महिलाको यौनिकतामाथि पनि पितृसत्ताकै नियन्त्रण छ। धर्म र सांस्कृतिक अवयवको सहारामा महिलामाथि नियन्त्रण कायमै राख्ने दाउमा छ पित्तृसत्ता। महिलासँग केवल यौनांग मात्र हुन्छ भन्ने अवधारणा अझै पुरानो हुन सकेको छैन।
हरेक सामाजिक संस्थालाई सक्रीय बनाउन पुरुषभन्दा महिलाको भूमिका बढी हुन्छ। सामाजिक अवयवमाथि पुरुषवादी सोचको नियन्त्रण कायमै छ। नेपाली समाजको सामाजिक मनोविज्ञानले अझैसम्म पितृसत्ताको पक्षपोषण गरिरहेकै छ। ‘स्त्रिया चरित्रम्, पुरषस्य भाग्यम् दैवो नजानाति कुतो मनुष्यः’ अर्थात् स्त्रीको चरित्र र पुरुषको भाग्य दैवलाई पनि थाहा हुँदैन, मानिसलाई झन् कसरी थाहा हुन सक्छ, भन्ने जस्ता उक्ति उतिकै बलिया प्रमाणका रुपमा प्रस्तुत गरिन्छ।
महिलाको चरित्रमाथि प्रश्न गर्ने समाजले पुरुषको सोच र व्यवहारको विषयमा कहिल्यै ‘चुँ’ सम्म गर्दैन। महिलालाई सुन्दरतासँग जोडेर मुल्यांकन गरिन्छ। महिला पनि ‘सुन्दर हुनु नै सम्पूर्ण क्षमता हुनु’ हो भन्ने भ्रममा परिरहेका छन्।
पुरुषको छत्रछाया विना महिलाले केही पनि गर्न सक्दैनन् भन्न भ्रम यथावतै छ। समाजको मूल नीति राजनीतिमा नै महिला हिंसाबाट मुक्त हुन सकेको छैन। महिलाहरू कोटाको लागि मात्र लायक देख्ने राजनैतिक नेतृत्वले महिलालाई दोस्रो दर्जाको रूपमा सम्बोधन गरिरहेको छ। पुरुष नेताहरूमा मात्र हैन महिला नेतृत्वमा पनि एउटै सोच हाबी नै छ। उनीहरू आफै खुल्ला प्रतिस्प्रधाबाट पछाडि हट्ने गर्छन्। यसको दोष कुनै महिला अथवा पुरुषको मात्रै हैन। यो हाम्रो समाजको परम्परागत अभ्यास र संकुचित मानसिकताको उपज हो।
हाल नेतृत्वमा रहेको पुस्ताले महिला दोस्रो दर्जाकै नागरिक हुन भनेर सिकेको वास्तविकता लुकाएर पनि लुक्न सकेको देखिँदैन। त्यही सिकाइको उपयोग अहिले भइरहेको छ। सामन्तवादी संस्कारमा हुर्किएको पुस्ताले अझसम्म आधुनिकताको अभ्यास गर्न सकेको देखिँदैन। लब्धप्रतिष्ठीतहरूबाट नै नकारात्मक टीप्पणी हुने गरेको हामीले सुनेकै हो। अति उत्साहित हुँदा वा निराशा व्यक्त गर्दा वा वा उन्मादमा त्यस्ता अभिव्यक्तिहरू बाहिर निस्कन्छन्।
बलात्कार र हत्याजस्ता अमानवीय महिला हिंसा भइरहँदा कारण पनि उतिकै खोतल्न जरुरी छ। खासमा अहिलेको नेपाली समाज पूँजीवादी प्रकतिको छ। पूँजीवादमा मानिसको हैसियत आर्थिक रूपमा मात्र मापन गरिन्छ। बाहिरी आदर्शका धेरै कुरा हुन्छन् तर भित्रीरूपमा पैसा वा पुँजी नै प्रधान विषय बनिरहेको हुन्छ। प्रेम, विवाह, नाता÷सम्बन्ध पनि मौद्रिक मूल्य अनुसार नै परिचालित भइरहेका छन्।
आम्दानी कम भएको युवक जति नै गुणवान् भए पनि प्रेम वा विवाहको लागि उपयुक्त ठहर्दैन। आर्थिक हिसाबमा कमजोर परिवारलाई आफ्नै आफन्तले समेत कम महत्व दिने गरेको यथार्थता हामी सामु छर्लङ्ग छ। आर्थिक रूपमा सबल भएपछि नैतिकता, इमान्दारिताजस्ता गुणहरू गौण बन्दै जान्छन्।
परिवारिक आर्थिक व्यवस्थापनको जिम्मा पुरुषकै काँधमा छ। प्रेम सम्बन्धमा पनि प्रेमीको कमाइ र प्रेमिकाको रूप प्रधान हुने गर्छ। यसले पनि के देखाउँछ भने महिलाले सुन्दरी भए पुग्छ, अरू क्षमता चाँहिदैन। त्यसैले पितृसत्ता महिलामाथि शासन कायम राखिराख्न सफल भएको छ।
अरुको आम्दानीमा निर्भरहुनु आफैमा परनिर्भरता हो। परनिर्भर मानिस स्वभावैले कमजोर हुन्छ। महिला आफै आत्मनिर्भर बन्न नसक्नु र राज्यले पनि त्यसमा कुनै ध्यान नदिनु समस्याको मुख्य कारण हो।
बोक्सीको आरोपमा महिलामाथि शारीरिक र मानसिक हिंसा भइरहेको छ। तराईका जिल्लामा दाइजो नल्याएको निहुँमा महिलाहरू जिउँदै जल्छन्। छाउपडी प्रथाका कारण गोठमा बस्दा गोठ भत्किएर होस् वा सर्पको डसाइले नै किन नहोस् महिलाको ज्यान गइरहेकै छ। बलात्कारलगायतका यौन हिंसा सहेर बस्न बाध्य छन् सयौँ महिलाहरू। महिला हिंसा विरुद्ध सरकारले चलाएको अभियान प्रभावकारी हुन सकेको छैन।
छाउपडी हटाउन सयौँको संख्यामा एनजिआे/आइएनजिओ परिचालन गरिए। छाउगोठ भत्काइयो। तर मासिकश्राव हुँदा के गर्ने? कसरी सरसफाइ गर्ने? चेतनामूलक शिक्षा दिइएन। दाइजो महापाप हो भनियो, तर मन्त्रीहरूको मुख्य सम्पत्तिको श्रोत नै दाइजो बन्यो। यौन हिंसा अपराध हो भनियो, तर कानुनका रक्षक नै बलात्कार जस्तो जघन्य अपराधको मिलापत्र गरेर पैसा लिइरहेका छन्। यसले पनि राज्य कति पितृसत्तात्मक छ भन्ने कुरा स्पष्ट छर्लङ्ग छ।
विगतको भन्दा हिंसाको प्रकृति फरक भएको छ। औपचारिक नाता/सम्बन्ध स्थापित गरेर पनि हिंसा भइरहेका छन्। काका, मामा, छिमेकी, प्रेमी आदिबाट समेत महिला हिंसा भइरहेकै छन्। सामाजिक सञ्जालको दुरुपयोगका कारण भित्रीरूपमा धेरै महिलाहरू पिडा खपेर बस्न बाध्य छन्। जो खुलेर समस्या देखाउन सक्दैनन् र उनीहरू समाधान निकाल्न पनि पनि सक्दैनन्। अन्ततः आत्महत्यालाई नै विकल्पका रुपमा लिने गरेका महिला पनि छन्।
केही थान विज्ञप्ति, जुलुस र डेलीगेसनले मात्र महिला हिंसाको न्यूनीकरण हुँदैन। व्यक्ति र समाजको सोच बदल्न जरुरी छ। महिला कुनै वस्तु हैन भन्ने भावना विकास गराउन सक्नुपर्दछ। महिला अधीकारवादीबाट मात्र हैन, सम्पूर्ण सामाजिक प्राणीबाट महिला हिंसा वर्जित गराइनुुपर्छ । बलात्कारीलाई समाजमा अस्वीकार गर्ने आँट हुनुपर्यो। बलात्कारमा परेकी महिलाको कुनै दोष हुँदैन। एकपक्षीय पुरुषवादी सोच प्रस्थिापन गर्न जरुरी छ। यो भन्दा पहिला हरेक महिलालाई आत्मनिर्भर बनाउन जरुरी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।