नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार नेपाली मुद्रा हालसम्मकै सर्वा्धिक कमजोर भएको देखिएको छ। राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलर खरीद गर्न १ सय १३ रुपैयाँ २५ पैसा खर्च गर्नुपर्ने भएको छ।
नेपाली मुद्रा कमजोर हुँदा नेपालीलाई बेफाइदा मात्रै हुँदैन। ठूलो संख्याका नेपालीले विदेशमा रोजगारी गर्ने र नेपालमा विप्रेशण (रेमिट्यान्स) पठाउने हुनाले केही फाइदा त हुन्छ। यसैगरी विदेशी पर्यटकले नेपालमा खर्चिने रकमले पनि फाइदा पुर्याएको हुन्छ। तर फाइदाका तुलनामा बेफाइदा बढी हुने गरेको छ।
बजेटकै बराबरकै सामग्री आयात हुने देशको मुद्रा कमजोर हुँदा बेफाइदा बढी हुन्छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष (आव) २०७४/०७५ मा १२ खर्ब ४३ अर्ब रुपैयाँ मूल्य बराबरका वस्तु आयात भएको थियो।
विदेशी वस्तुको आयात गर्न डलर खर्चनु पर्ने हुन्छ। नेपाली मुद्रा कमजोर हुँदा यसरी उही परिणामको आयात गर्दा पनि डलर खरीद गर्नका लागि बढी नेपाली मुद्रा खर्च हुन्छ। निर्यातभन्दा करीब १४ प्रतिशत बढी आयात हुने नेपालमा डलर बलियो बन्दा हुने बेफाइदा पनि सोही अनुपातमा नै हुन्छ।
नेपाली मुद्राको स्वायत्तता छैन। विदेशी मुद्राको विनिमय गर्नका लागि भारतीय मुद्रा (भारु) मा भर पर्नुपर्ने अवस्था छ। नेपालले भारुसँग आवद्धता (पेग्ड) गरेका कारण विनिमय प्रणाली लामो समयदेखि स्थिर छ। भारु बलियो हुँदा नेपाली मुद्रा पनि सबल हुन्छ भने भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्रा स्वतः कमजोर हुन पुग्छ। बेला बखतमा स्थिर विनियमलाई परिमार्जन गर्नुपर्ने विषयमा बहस हुने गरेपनि यसले सार्थकता भने पाएको छैन।
नेपाली मुद्रा कमजोर हुनुमा भारतीय र नेपाली अर्थतन्त्रमात्र कारक पक्ष भने होइन। विश्व अर्थव्यवस्थामा देखिएका विवादका कारण अहिले धेरै राष्ट्रको मुद्रा कमजोर बन्न पुगेका छन्। यही चपेटामा भारतीय मुद्रा परेसँगै नेपाली मुद्रा पनि कमजोर दखिएको हो। खासगरी अमेरिकी संरक्षणवाद, आयात कर, व्यापार युद्धजस्ता स्वतन्त्र तथा खुला व्यापार प्रणाली विरोधी गतिविधिका बाछिटाको असर नेपाली मुद्रासम्म आइपुगेको छ।
सन् २०१६ मा अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिका लागि उम्मेद्वार बने। व्यापार घाटा चुलिँदै गएको अमेरिकी अर्थतन्त्र धराशायी अवस्थामा थियो। एकातिर शक्तिशाली अर्थतन्त्रमा चीनले दिन प्रतिदिन नयाँ उचाई प्राप्त गर्दै थियो भने व्यापार सम्बन्ध विस्तार गरी विश्वका धेरै राष्ट्रमा वस्तु तथा सेवा निर्यातको कारोबार बढाउँदै लगेको थियो। विश्व अर्थतन्त्रको सर्वा्धिक शक्तिमान् राष्ट्र बन्नबाट चीनलाई रोक्ने र व्यापार घाटा साँघु¥याउँदै लैजाने मुद्दा ट्रम्पले उठाए।
यसैगरी, आप्रवासीका कारण अमेरिकी नागरिकले प्राप्त गर्ने रोजगारीको अवसर गुमेको जस्ता विषयलाई उठाएका ट्रम्पले मेक्सिकोसँगको खुला सीमामा पर्खाल लगाउने र त्यसको सम्पूर्ण खर्च पनि मेक्सीकोले नै व्यहोर्नु पर्ने मुद्दा उठाएका ट्रम्पले अन्ततः चुनाव जिते।
विश्वकै सर्वा्धिक शक्तिशाली राष्ट्रको रुपमा दावी गर्ने अमेरिकाको राष्ट्रपतिको कार्यभार सम्हाल्न थालेपछि स्वतन्त्र तथा खुला प्रतिस्पर्धी व्यापारमाथि अंकुश लगाउन थाले ट्रम्पले। उनका गतिविधि विशेषगरी उदीयमान अर्थतन्त्र भएका राष्ट्र चीन, जापान, यूरोपेली युनियन, भारत, टर्की मेक्सिकोलगायतका राष्ट्रप्रति इंगित थियो।
स्वदेशी कम्पनीलाई संरक्षण गर्न ट्रम्पले संरक्षणवादी नीति अख्तियार गरे। आयातीत वस्तुमा कर लगाउन थाले। पहिलो निशानामा प¥यो चीन। चीनबाट अमेरिकाकामा आयात हुने ५० अर्ब डलर बराबरका वस्तुमा आयात कर लगाउन थालिएको छ। यो दायरा बढाउँदै लगेर ५ सय अर्ब (५ खर्ब) डलर पुर्याउने ट्रम्पले बताउँदै आएका छन्। यसैगरी अन्य राष्ट्रबाट आयात हुने सामग्रीमा पनि आयात कर लगाईँदै आएको छ। भारतबाट अमेरिकामा आयात हुने वस्तुमा समेत अमेरिकाले आयात कर लगाउन थालेको छ। यसैगरी उदीयमान अर्थतन्त्र भएका सबै राष्ट्रसँग अमेरिकाले आयात कर लगाएर आन्तरिक अर्थतन्त्रलाई प्रोत्साहन गर्दै आएको छ। अन्य राष्ट्रले पनि प्रतिकारात्मक कर लगाउन थाले।
पछिल्लो समय अमेरिकी अर्थतन्त्र सबल बन्दै गएको छ। आयात करले अल्पकालीन रुपमा अमेरिकी अर्थतन्त्रलाई फाइदा नै पु¥याउने तर दीगो नुहने भएपनि यसले विश्व अर्थतन्त्रमा हलचल पैदा गरेको पक्कै हो। अमेरिकी अर्थतन्त्र सबल हुँदै जाँदा उदीयमान अर्थतन्त्र भएका राष्ट्रका अर्थतन्त्र तथा तिनका मुद्रा मारमा परेका हुन्। टर्कीको मुद्रा पनि अत्यधिक अवमूल्यन हुनु यसकै असर भएको बताइने गरेको छ।
अमेरिकामा निर्यात हुने नेपाली वस्तुमा पनि कर लगाएर नेपाली मुद्रा कमजोर भएको चाँहि पक्कै होइन। बरु नेपालीमुद्रा सँग पेग भएको भारतीय र स्थिर विनिमय दरका कारण चाँहि नेपाली मुद्रा कमजोर भएको हो। समग्र उदीयमान राष्ट्रको अर्थतन्त्र कमजोर बनाउने गरी अमेरिकाले चालेका रणनीतिमा केही सफलता हात पारेकाले भारतीय मुद्रा कमजोर भएसँगै नेपाली मुद्रा मारमा परेको देखिन्छ।
लगानीको वातावरण सहज बन्दै जाँदा र अमेरिकी आन्तरिक उद्योग संरक्षण गर्ने नीतिले लगानीकर्ता अमेरिकामा केन्द्रित हुन थालेका छन् । उदीयमान राष्ट्रमा भएको लगानी झिकेर अमेरिका लैजान थालिएकोले एकातिर डलरको अभाव हुन थालेको छ। अर्का्तिर अमेरिकी केन्द्रीय बैंकको बैंकले व्याजदर बढाएकाले अमेरिकामा लगेर मुद्रा सञ्चित गर्ने प्रवृत्तिका कारण डलरको माग उच्च भएकाले डलरको मूल्य बढे्सँगै भारतीय मुद्रा कमजोर हुन पुग्दा नेपाली मुद्रा पनि कमजोर भएको हो।
समग्रमा भन्नुपर्दा, अमेरिकाले विदेशी वस्तुका आयातमा कर लगाउँदा धेरै उदीयमान राष्ट्रका मुद्रा अवमूल्यनमा परेका छन् । उदीयमान राष्ट्रको लगानी अमेरिकातर्फ केन्द्रित हुन थालेको छ। भारतीय बजारबाट समेत लगानी फिर्ता हुने क्रमले डलरको माग बढेकाले नेपाली मुद्रासमेत अवमूल्यनमा परेको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।