काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीलाई आफू मात्रै ठीक छु भन्ने लाग्ने खतरनाक बानी रहेको बताएका छन्।बुधबार राजधानीमा आयोजित 'वर्तमान राजनीतिक परिस्थिति र लोकतन्त्र माथिका चुनौतिहरु' विषयक अन्तर्क्रियामा बोल्दै थापाले प्रधानमन्त्री ओलीमा आफूलाई भगवानले पठाएको भन्ने धारणा रहेको बताए।
'प्रधानमन्त्री ओलीमा म ठीक, म बाहेक सबै गलत। म यो समाजमा भएका सबै विकार र विकृतिलाई निर्मुल गर्न आएको हुँ। भगवानले मलाई पठाउनुभएको हो। म अवतार हुँ भन्ने लागेको छ', थापाले थपे, 'राजा महेन्द्रलाई ठ्याक्कै त्यही लागेको थियो। बिपीलाई थुनिसकेपछि उहाँले भन्नुभयो- सय वर्षमा नगरेको काम दस वर्षमा मैले गर्छु। वीरेन्द्रलाई पनि त्यस्तै लाग्यो। उहाँले भन्नुभयो- विकासको मूल फुटाउँछु। त्यसको केही वर्षपछि एशियाली मापदण्डमा पुर्याउँछु।''केपी ओलीलाई अहिले प्रतिपक्षी पार्टीका नेता कार्यकर्ता मात्रै गलत लागिरहेको छैन। आफ्नै पार्टीमा पनि माधव नेपाल, पुष्पकमल दाहाल सबै गलत लाग्छन्। यी जान्दैनन् भन्ने लाग्छ। भगवानले त मलाई पठाएका हुन् भन्ने लाग्छ', थापाले भने।
प्रधानमन्त्री ओलीलाई आफू गलत छु भन्ने नलाग्ने तर भगवानले आफूलाई गरिबीबाट बाहिर निकाल्न, रेल र पानीजहाज देखाउन पठाएको हो भन्ने लागिरहेको थापाले बताए। 'यस्तो धारणा बोक्ने शक्तिशाली पार्टी अध्यक्ष खतरानाक छ', थापाले भने।
थापाले सरकारलाई विधिको शासन, शक्तिको सीमा र नागरिकका आधारभूत स्वतन्त्रताको हेक्का नभएको आरोप लगाए। 'यस्ता कुरा समृद्धिको बाधक हो भन्ने बुझाइ अहिलेको सरकारमा देखिन्छ', थापाले भने।केपी ओलीले के सोच्नुहुन्छ भन्ने कुराको सीमित प्रभाव नहुने थापाले बताए।थापाले प्रधानमन्त्री ओली संविधान जारी भइसकेको नेपाललाई अगाडि बढाउने क्षमता नराख्ने बताए।
'यो मेरो आरोप होइन', उनले भने, 'उहाँका कामहरुको आधारमा निकालेको निष्कर्ष हो।''प्रधानमन्त्रीले डेलिभरी गर्नै सक्नुहुन्न। संविधान कार्यान्वयको सन्दर्भमा, त्यसभित्र संघीयता, आर्थिक विकास, सामाजिक न्याय, अन्तर्राष्ट्रिय सम्बन्धको विषय पर्छ', थापाले भने, 'प्रधानमन्त्रीको अक्षमताले उहाँको शासन थप अनुदार बन्छ। थप असहिष्णु बन्छ। जति असक्षम हुन्छ, त्यसलाई ढाक्न अनुदार र असहिष्णु बन्दै जानुपर्छ। उहाँ जति बढी अनुदार र असहिष्णु बन्दै जानुहुन्छ, उति नै असक्षम पनि बन्दै जानुहुन्छ। उहाँ झन्झन् दलदलमा फस्दै जानुहुन्छ। तर यो सरकार स्थिर भने हुन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।