काठमाडौं– राजस्व धेरै उठ्यो भनेर गर्व नगर्ने अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १९औं साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री डा खतिवडाले राजस्व संकलन बढ्नु स्वभाविक प्रक्रिया भएको बताएका हुन्।
उनले भने, ‘केही समयको लागि राजस्व संकलन वृद्धि हुनु ठूलो कुरा होइन। तर, मुलुकको अर्थतन्त्र दिर्घकालीन रुपमा सबल बन्नु ठूलो कुरा हो। त्यसैले केही समयको लागि राजस्व संकलनमा वृद्धि भयो भन्दैमा म गर्व गर्दिन।’ उनले निजी क्षेत्रबिना ८ प्रतिशतको आर्थिक वृद्धि सम्भव नभएको बताए।
मन्त्री खतिवडाले राजस्व तथा भन्सार दरलाई वैज्ञानिक हिसाबले समायोजन गर्ने कार्य भइरहेको जानकारी दिए। विदेशी लगानी निर्यातजन्य उद्योगमा भित्र्याउन पहल भइरहेको बताउँदै उनले यसले आन्तरिक उत्पादन र निर्यात प्रवद्र्धनमा सहयोग गर्ने बताए।
अहिले देखिएको समस्याको अन्त्य गर्नको लागि कानुन निर्माण भइरहेको उनले प्रष्ट पारे। उनले दोहोरो करको दायरालाई इंगित गर्दै भने,‘सरकारले दिनमा एउटा कानुन निर्माण गरिरहेको छ। जसले अहिले देखिएको समस्याको दिर्घकालीन रुपमा समाधान हुन्छ।’ मन्त्री खतिवडाले राम्रो काम गर्न समय धेरै लाग्ने र यसले दिर्घकालीन रुपमा समस्याको निरुपण गर्ने भएकोले लगानीकर्तालाई निरुत्साहित नबन्न आग्रह गरे।
डा खतिवडाले चालू आर्थिक वर्षको बजेट कार्यान्वयन भएको ६ साता पनि नबित्दै परिणाम नखोज्न आग्रह गरे। भने, ‘चालु आवको बजेट विनियोजन भएको १ महिना १२ दिन भएको छ, अहिले नै परिणाम कसरी आउँछ? केही समय धैर्य गर्नुहोस्।’
अर्थतन्त्रका केही परिसूचकहरु नकारात्मक छन् भन्दैमा समग्र अर्थतन्त्र बिग्रियो भन्न नमिल्ने उनको तर्क थियो। उनले भने, ‘अर्थतन्त्र बिग्रियो भनेर हल्ला गर्दा निजी क्षेत्रका साथै विदेशी लगानीकर्ताको मनोबल समेत गिर्ने भएकाले नकारात्मक प्रचार नगर्नुहोस्।’ उनले बिस्तारै अर्थतन्त्र सबल हुँदै गएको दाबीसमेत गरे। आफूले बजेट अनुशासनमा राख्ने प्रयास गरेको र केही अनुशासन बाहिर गएकोलाई समेत ‘लिक’मा ल्याउने प्रयास जारी राखेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।