इटहरी- सूचनाको पहुँच गाउँसम्म पुर्याउने उद्देश्यले निर्माण गरिएका टावरहरू मानव जीवनका लागि घातक देखिएका छन्। सूचना प्रविधिको विकासलाई स्थानीय स्तरसम्म निर्माण गरिएका टावरले फाल्ने रेडिएसन (विकिरण) ले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने विज्ञहरुले बताएका छन्। हरेक टोलटोलमा गाडिएका विभिन्न मोबाइल, रेडियो, टेलिभिजन र इन्टरनेटका टावरले फाल्ने घातक रेडिएसनका कारण हरेक सहर 'क्यान्सरको हब' बन्न सक्ने सरोकारवालाहरुले खतरा औंल्याएका छन्।
विभिन्न अन्तर्राष्ट्रिय अध्ययनका अनुसार मोबाइल, रेडियो, टेलिभिजन र इन्टरनेटका टावरले निकाल्ने रेडिएसन चुरोट, खैनी र जाँडरक्सी भन्दा धेरै हानिकारक हुन्छ। रेडिएसनका कारण टावर भएको घरमा भन्दा आसपासका छरछिमेकहरूमा बढी असर गर्ने विज्ञहरू बताउँछन्। खासगरी रेडिएसनले रिँगटा लाग्ने, बोधोपनदेखि क्यान्सरसम्मका समस्या ल्याउने देखिएको छ।
अध्ययनबिना नै बस्तीको बीचभागमा अड्याइएका टावरका कारण वातावरणीय तथा मानवीय जोखिम बढाइरहेको पाइएको छ।
विभिन्न अन्तर्राष्ट्रिय अध्ययनका आधारमा मोबाइल फोन, रेडियो र इन्टरनेटका टावरहरूले फाल्ने घातक रेडिएसनले जनस्वास्थ्य, वातावरण र पशुस्वास्थ्यमा समेत असर देखिएको छ। यिनै अध्ययनका कारण युरोप, अमेरिकातिर यस्ता टावरहरू राख्नुअगाडि स्थानीयको सहमति र वातावरणीय तथा जनस्वास्थ्यमा पर्ने असरको अध्ययन हुन्छ। तर, नेपालमा भने घरधनीले भाडामा स्विकृति दिनासाथ मोबाइल, रेडियो तथा इन्टरनेटका टावरहरू सहजै राख्ने गरिएको छ।
भारतको प्रेस इन्फर्मेसन ब्युरोले प्रकाशन गरेको एक अनलाइन सामग्रीले टावरहरूको रेडिएसनका कारण अनिद्रा, डिप्रेसन, पुरुषको प्रजनन क्षमतामा कमीदेखि क्यान्सरसम्म हुने बताएको छ। पिआइबी डट एनआइसी डट आइएनमा इन्डियन मेडिकल काउन्सिलको विभिन्न रिसर्चहरूलाई आधार मानेर यस्तो रिपोर्ट राखिएको छ।
ब्युरोले मात्रै होइन क्यान्सर सम्बन्धी काम गर्ने संस्था अमेरिकन क्यान्सर सोसाइटीले पनि रेडिएनको खतरा बढ्दै गएको औंल्याएको छ। क्यान्सर डट ओआरजी नामक आफ्नो अनलाइन संस्करणमा उक्त सोसाइटीले विभिन्न टावरका रेडिएसनले क्यान्सरसम्म हुने लेखेको छ। यस्तै वातावरणको प्रदूषण रोकथाम गर्न काम गर्ने इन्भाइरोमेन्टर पोलुसन डट आइएन नामक एक भारतीय पोर्टलेले पनि रेडिएसन निकाल्ने टावरले विभिन्न असरको विषयमा उल्लेख गरेको छ।
सो पोर्टलमा सुप्रिया केले रेडिएसन प्रदूषणका ७ मुख्य समस्या शीर्षकमा स्पष्ट रूपमा उल्लेख गरेकी छिन्। उनले रेडिएसनका कारण मानव जीवनदेखि वातावरणमा नै दीर्घकालीन प्रभाव पार्ने बताएकी छिन्।
अमेरिकी क्यान्सर सोसाइटी र भारतीय मेडिकल काउन्सिलका विभिन्न अध्ययनहरूले रेडिएसनले क्यान्सरसम्म हुने बताएपछि यस बारेमा विश्वव्यापी चर्चा र चासो हुन थालेको थियो। तर, नेपालका सहरमा भने घातक रेडिएसन फाल्ने टावरबारेमा धेरैले सोच्न सकेका छैनन्।
क्यान्सरको सम्भावना धेरै
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डाक्टर प्रदीप न्यौपानेका अनुसार रेडिएसन एक प्रकारको भाइरस भएकोले यसले जीवित प्राणी र वनस्पतिमा हमला गरिरहन्छ। रेडिएसनको प्रभाव भएको स्थानमा क्यान्सरको सम्भावना धेरै हुने उनको भनाइ छ। 'रेडिएसनले मानिसको यही स्थानमा असर गर्छ भन्ने हुँदैन,’ उनी भन्छन्, 'मानिसले खाने परिकारदेखि शरीरसम्म यसको प्रभाव परिरहेको हुन्छ। त्यसैले जुन अंग बढी कमजोर बन्दै गएको छ, त्यहीँ क्यान्सर हुने सम्भावना ज्यादा हुन्छ।’
घरभाडा धेरै आउने नाममा घरवालाहरूले टावरका लागि सहज रूपमा घर उपलब्ध गराउँदै आएका छन्। घातक टावरहरू भूकम्प आदिले लड्दा दुर्घटना हुने र निरन्तर फालिने रेडिएसनले क्यान्सरसम्म हुने बारेमा पनि स्थानीय समुदाय र सरकार सचेत हुन सकेका छैनन्।
टावरका कारण रेडिएसन फैलिने र मानव स्वास्थ्यमा असर पर्ने कुरा त छँदैछ, असरल्ल ठडिएका टावरहरु करको दायरामा पनि आउन सकेका छैनन्।
प्रदेश नं १ मा मात्रै सरकारी स्वामित्वमा सञ्चालित नेपाल टेलिकमका ४५९ वटा टावर हरेका छन् भने नेपालभरि २२ सयभन्दा बढी टावर रहेको नेपाल टेलिकमका पूर्वाञ्चल प्रमुख मोहन चौहानले जानकारी दिए। निजी सञ्चार संस्था एनसेलले प्रदेश १ भर १ हजारभन्दा बढी टावरबाट सेवा विस्तार गरिरहेको छ। भित्री गाउँसम्म पनि सेवा पुर्याउने उद्देश्यले एनसेलले हरेक टोलटोलमा टावर राख्न थालेको हो। त्यस्तै निजी तथा सामुदायिक रेडियोका गरी प्रदेश १ मा ९० को हाराहारीमा टावरहरू ठडिएका छन्।
मानवीय तथा वातावरणीय प्रभाव पार्ने यस्ता घातक टावरहरूको कारण नेपालका हरेक सहरहरू रेडिएसन प्रदूषणबाट ग्रस्त भइरहेका छन्। हरेक स्थानीय सरकारले यस्ता टावरलाई एन्टी रेडिएसन उपकरण जडान गर्न लगाई करका दायरामा ल्याउन सके स्वास्थ्यमा पर्ने असरलाई न्यूनीकरण गर्न सकिने सरोकारवालाहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।