रसुवा- स्थानीय तह निर्माण भएसँगै गाउँपालिकाको केन्द्र रसुवा सदरमुकाम धुन्चेमा नराखी स्याफ्रुमा सारियो। देशका ७७ जिल्लामध्ये सदरमुकाममा गाउँपालिकाको केन्द्र नभएको जिल्ला रसुवा हो। गाउँपालिका मातहतमा सबै कार्यालय रहने हुँदा जिल्लाका सबै कार्यालय गाउँपालिकामा पुगे। गाउँपालिकामार्फत नै धेरैजसो गतिविधि हुने हुँदा सदरमुकाम धुन्चे सुनसान जस्तै बन्दै गएको थियो।
गोसाइँकुण्ड मेलाले भने सातो हराएझैं बनेको धुन्चेको रौनक फर्काइदिएको छ। सुनसान बन्दै गएको धुन्चेमा स्थानीय तह सक्रिय बनेपछि पनि चहलपहल बढेको हो। हरेक वर्ष पुत्रदा एकादशीदेखि साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाका दिनसम्म लाग्ने गोसाइँकुण्ड मेला लाग्ने गर्छ। जिल्लाको पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा देशविदेशका पर्यटकले टेकेका छन्।
गोसाइँकुण्ड मेला भर्नकै यहाँ दैनिक हजारभन्दा बढी तीर्थयात्री ओहोरदोहोर गरेका छन्। चहलपहल बाक्लिएसँगै व्यवसाय पनि फस्टाउँदै गएको व्यापारी सुनिता गुरुङले बताइन्। 'स्थानीय तहको केन्द्र स्याफ्रुमा सारेपछि दिउँसो त सुनसान जस्तै बन्थ्यो,' उनले भनिन्, 'गोसाइँकुण्ड मेला सुरु भएदेखि नै धुन्चेको रौनक नै फेरिएको छ।'
अर्का होटल व्यवसायी निशान गजुरेल मेलाका बेला दैनिक ५० जनाभन्दा बढी होटलमा बास बस्न आउने गरेको बताउँछन्।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार यो वर्ष जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्डमा करिब १० हजार तीर्थालुले मेला भरेका छन्। गोसाइँकुण्ड मेला भर्न आउने तीर्थयात्रीको चापलाई मध्यनजर गर्दै पदमार्गमा ६८ वटा अस्थायी बास (थर्पु) सञ्चालन गरिएको थियो।
गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी ४ पदमार्ग सञ्चालनमा छन्।
धुन्चे ओझेलमा पर्न थालेसँगै गाउँपालिकाले धुन्चे गोसाइँकुण्ड केवलकारदेखि रेडपाण्डा पार्क लगायतको निर्माण प्रक्रिया अघि बढाएको छ।
गोसाइँकुण्डमा विदेशी पर्यटकहरुको आवागमन पनि बढेको छ। गोसाइँकुण्ड आउने हरूमा सबैभन्दा धेरै फ्रान्स, जर्मन, इजरायल, कोरिया, जापान र नेदरल्याड्सका छन्। गोसाइँकुण्डमा तीर्थ भर्न, सूर्यकुण्ड भन्ज्याङ सहितको सहासिक पदयात्रा र पर्वतारोहण गर्ने उद्देश्यले आउने गरेका छन्। जैविक विविधताको अध्ययन र भूगर्भशास्त्रको अध्ययनका लागि समेत यस क्षेत्रमा आउने गरेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।