काठमाडौं– विमानस्थलबाट भएको संगठित सुन तस्करीको मुद्दामा प्रहरीले थप दुई व्यक्तिको पहिचान गरी मुद्दा दायर गरेको छ।
ग्रिनलाइन होलिडे ट्राभलका सञ्चालकद्व बालकृष्ण खडका र ठाकुर प्रसाद ढुंगानाविरुद्ध मुद्दा दायर भएको हो। जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरुविरुद्ध मुद्दा दायर गरेको छ। पक्राउ परेका ५ जनासहित उनीहरुलाई प्रतिवादी बनाएर गत साता मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले बताए।
प्रहरीले भारतीय व्यापारी विमल पोद्दारसहित सैयद अकबर शाह, इस्तियाक आलम, राज दारुका र लक्षु गुरुङलाई २ महिनाअघि पक्राउ गरेको हो। उनीहरुविरुद्ध जिल्ला अदालत मोरङमा गत साता पूरक अभियोग दायर भएको हो। अदालतमा उनीहरुको बयान प्रक्रिया अघि बढेको छ। सो समूहले एयरलाइन्सका कर्मचारीसँग मिलेर पछिल्लो ५ वर्षमा ३८ सय केजी सुन तस्करी गरेका थिए।
गिरोहका एक नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेपनि अर्का नाइके मोहन अग्रवाल पक्राउ परेका छैनन्। अग्रवालको नाममा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भइसकेको छ। ग्रिनलाइन होलिडेका सञ्चालकद्वयको तस्करीमा लगानी भेटिएको स्रोत बताउँछ। प्रहरीले बरामद गरेको डायरीमा उनीहरुसँगको हिसाबकिताब उल्लेख छ। उनीहरुविरुद्ध विस्तृत प्रमाण भने प्रहरीले फेला पार्न सकेको छैन। उनीहरुको ट्राभल भने गत महिना नै शिल गरिएको थियो। उनीहरुसँगै सो प्रकरणमा मुद्दा दायर भएका अभियुक्तको संख्या ७७ पुगेको छ।
सो प्रकरणमा फरार रहेका रमेश उप्रेती र बेनु श्रेष्ठ दुबईमा ‘लोकेट’ भइसकेका छन्। उनीहरुलाई नेपाल ल्याउने प्रक्रिया अघि बढेको छ। शाक्यको हत्याको अनुसन्धानमा प्रहरीले गरेको लापरबाहीमाथि गृहले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा बिशेष अनुसन्धान टोली गठन गरेको थियो। टोलीले गत महिना प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइसकेको छ। तर, प्रतिवेदन कार्यान्वायन अघि बढेको छैन। टोलीले थप ३ सय भन्दा धेरै व्यक्तिमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।