काठमाडौं– राजधानीका खाल्डा पुर्न महिनौंदेखि नागरिकले दबाब दिए। सरकारले विभिन्न समस्या देखाउदै टार्दै आयो। तर, केही दिनयता राजधानीको मुख्य सडकमा रातारात खाल्डा पुर्ने काम मात्र भइरहेको छैन, सडक पखालेर सजाउने काम समेत भइरहेका छ।
आगामी बिहीबार र शुक्रबार काठमाडौंमा हुन लागेको विमस्टेकको चौथो सम्मेलनका लागि राजधानीमा यस्तो ‘श्रृङगार’ चलिरहेका हो। सम्मेलनमा भारत, बंगालदेश, श्रीलंका, म्यानमार, भुटान तथा थाइल्याण्डका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरु आउने भएकाले हतार– हतार सडकमा पिच र सरसफाईको काम चलिरहेको छ।
खासगरी विमानस्थलदेखि सोल्टी होटलसम्मको सडक खण्डमा मर्मत र सजावट चलिरहेको छ। स्वागतगेटदेखि सडकछेउमा विभिन्न चित्रहरु राखिएका छन्।
पाहुनाहरुलाई १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हायत होटलमा रात्रीभोज दिदै छन्। जसकारण हायात होटलसम्मको सडकमा पनि सजावटको काम भइरहेको छ। ठाउँ–ठाउँमा स्वागत गेट बनाइएको छ। अलपत्र तार व्यवस्थित बनाउने काम एक महिना पहिलेदेखि नै चलिरहेको छ।
हिलाम्मे रहेको बौद्ध–जोरपाटी सडकखण्डमा पनि खाल्डा पुर्ने काम भइरहेको छ। गोकर्ण रिसोर्टमा पाहुनालाई रिट्रिटका लागि लैजाने योजनाका साथ बौद्ध जोरपाटी क्षेत्रको सडकमा पिच गर्ने काम भइरहेको हो। तर, तत्काल सडक अवस्था राम्रो हुने सम्भावना नभएपछि गोकर्णको रिट्रिट अन्योलमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।