काठमाडौं– आज जनैपूर्णिमा, हिन्दु धर्मावलम्बीहरूले बिहान सबेरै घरमा लिपपोत गरी शुद्ध गरेपछि कुनै प्रकारको रोगव्याधि नलागी सधैं सुख र शान्ति होस् भन्ने कामनासहित ब्राह्मण पुरोहितद्वारा नाडीमा रक्षाबन्धन बाँधेर मनाउने गर्दछन्। रक्षाबन्धन बाँध्दा दैत्यराज बलिको दानशील र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने गरिन्छ।
तागाधारीले आजकै दिन पुरानो जनै फालेर मन्त्र साधना गरिएको नयाँ जनै लगाउने धार्मिक प्रचलन रहिआएको छ। सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिने भएकाले यस दिनलाई ऋषि तर्पणी पनि भन्ने गरिन्छ।
तराईतिर भने यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई नाडीमा राखी बाँधीदिने चलन छ। नेवार समुदायले भने यस पर्वलाई ‘गुन्हु पुन्ही’ भनेर मास, भटमास, मुङ, ठूलो केराउ, सानो केराउ, चना, सिमी, गुराँस र बोडी गरी नौ प्रकारका गेडागुडी मिसाई पकाइएको क्वाँटी खाएर मनाउने गर्दछन्।
रक्षाबन्धनका अवसरमा आज गोसाइँकुण्ड (शिवलुती), मणिचूड दह र गोसाइँकुण्डबाट पानी आइराखेको जनविश्वास रहेको ललितपुरको कुम्भेश्वरमा ठूलो मेला लाग्ने गर्दछ। प्राचीनकालमा कुम्भ ऋषिले तपस्या गरेकाले उनकै नामबाट कुम्भेश्वर नामले प्रसिद्ध भएको उक्त तीर्थमा गोसाइँकुण्ड जान नसकेकाहरूले स्नान गरेर कुम्भेश्वर महादेवको पूजा अर्चना गर्दछन्।
आज देशका विभिन्न तलाउ, कुण्ड तथा नदीहरुमा स्नान गरी तिर्थस्थल, मठमन्दिरहरुमा गएर पुरोहितबाट रक्षाबन्धन बाँध्ने तथा जनै लगाउने भक्तजनहरुको घुइँचो लागेको छ।
जनैपूर्णिमा अघिल्ला वर्षहरुमा सरकारले सार्वजनिक बिदा दिने गर्दथ्यो। तर, यसपटक सो बिदा कटौति गरिएको छ। यद्यपि प्रदेश २ र ५ का सरकारले भने सर्वजनिक बिदा दिने निर्णय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।