काठमाडौं- भदौको पहिलो दिन सर्वनामको ‘हामी कवि र कविता’मा गुञ्जिएका थिए राजु स्याङ्तान र देवान किराँती। त्यसको अर्को दिन दिउँसो अनामनगरको एउटा क्याफेको भित्री कुनामा भेटिए, उनै कवि देवान। साथमा गफिँदै रहेछन्, अर्का कवि नवीन प्यासी।
केही दिनअघि मात्र कविता सुनाउन काठमाडौं आएका देवान छिट्टै राजधानीबाट उम्कने तयारीमा थिए। उसो त लामो समय उनी राजधानी बस्नै चाहँदैनन्। उनी इटहरीमा निकै व्यस्त छन्।
एकछिन पनि राजधानीमा टिक्न नसक्ने देवानले मोफसल र राजधानीबीचको फरकबारे लामै कुरा गरे।
देवानको बुझाइमा राजधानी
लामो समयदेखि मोफसलमै बसेर साहित्यमा डटिरहेका छन् उनी। मोफसललाई प्रेम गर्छन्। कवि बन्नका लागि राजधानी नै छिर्नुपर्छ भन्ने मान्यतालाई मोफसलमै बसेर चिर्न चाहन्छन् उनी।
राजधानीभित्र बसेर हजारौँ आँखाले सपना देख्दा त्योभन्दा बाहिर बस्ने देवानको आँखाले राजधानीमा के देख्छ त?
सुरुवाती प्रश्नमा उनी सजिलै उत्तर दिन्छन्, ‘फगत ईर्ष्या, लोभ, घमण्ड... त्यसबाहेक अरु कमै देख्छु।’
राजधानीको मिडियामा उभिन सबैजसो मरिहत्ते गर्छन्। राजधानीमा उनीहरूको ठूलो मोह छ। तर देवान भने राजधानीबाट टाढिन चाहन्छन्। उनी टाढै बसेर राजधानीलाई प्रेम गर्न चाहन्छन्। ‘म राजधानीलाई प्रेम गर्छु, तर सपना मोफसलमै देख्छु,' उनी खुल्दै जान्छन्, ‘राजधानीमा सपना त धेरैले देख्छन्, तर सबै सपना पुरा गर्ने तागत राजधानीमा छैन। यहाँ सबैले एउटा भ्रम पालेर बसेका छन् कि सबै राम्रा उत्पादनहरू राजधानीले नै गर्छ। तर यो सरासर गलत हो।’ उनको विचारमा राजधानीबाहिर काम गर्नेहरू पनि धेरै शक्तिशाली छन्। तर त्यसको मूल्याकंन भने हुन सकेको छैन।
राजधानीले कसरी हेर्छ मोफसललाई?
सपनाको पोको बोकेर राजधानी छिर्नेहरू धेरै छन्। कवि नै बन्छु भनेर आउनेहरूको पनि कमी छैन। उनीहरूले राजधानीलाई अवसरको नजरले हेरेका छन्। हेर्न त मोफसलमै बस्नेहरूले पनि राजधानीलाई प्रेमको नजरले हेर्छन्।
तर, राजधानीले मोफसललाई कसरी हेर्दो हो त?
‘राजधानीले मोफसललाई हेयको दृष्टिले हेर्छ,’ देवान गम्भीर मुद्रामा बोल्छन्। राजधानीले मोफसललाई विभेद गरेको उनको बुझाइ छ। राजधानी छिरेपछि मानिसहरूमा प्रतिभा होइन घमण्ड उम्रने कुरामा उनको बलियो तर्क छ। भन्छन्, ‘राजधानीमा मै हूँ भन्नेहरू मोफसल छिर्दा ऊसँग केही हुँदैन शरीर शिवाय।’
कवि हुन राजधानी छिर्नुपर्छ भन्ने कथित सत्य छ। यो निर्माण हुनुका पछाडि थुप्रै कारणहरू छन्। तर यो सत्य मोफसलले पालेको भ्रम हो भन्ने देवानको स्पष्ट बुझाइ छ, ‘राजधानीबाहिर राम्रा कविहरू छन्। राजधानी ताक्नु त निम्छरो दिमाग मात्र हो।’
राजधानीसँग धेरै कुरा भए पनि साहित्यको हिसाबमा भने शून्य भएको उनको मूल्याकंन छ। एकेडेमीले उत्पादन गरेका कविभन्दा एकेडेमी बाहिरका कवि शसक्त भएको ठहर गर्छन् उनी। राजधानी छिरेर कोही राम्रा भएका छैनन्। बरु राजधानी आएपछि सिर्जना नै हराएको छ। यसो हुनुको पछाडि एउटा कारण पेस गरे उनले, 'हामी जे सोचेर काठमाडौं पस्छौं, त्यो हुँदैन। बाहिरबाट देखेका कुरा हामी राम्रा भन्छौं तर गुदीमा केही हुँदैन।’
मोह हुन नसकेको राजधानी
देवान किराँती, जसलाई राजधानीप्रति कहिल्यै मोह भएन। ‘यहाँको चरित्र समाजसँग कहिल्यै पाच्य भएन। मैले जुन विचार विचार लिएर हिँडे, यहाँ त्यो विचारले मेल खाएन। यहाँ आफ्नो स्वतन्त्र जिन्दगी छैन। यहाँ हरेक पाइलामा गुट छ, गुटको अखडा छ।’
तर राजधानीबाहिर गएपछि त्यस्तो समस्या नभएको उनी बताउँछन्।
कवितामा भेटिने देवान
‘तपाईं कविता किन लेख्नुहुन्छ?’ प्रश्न गरेर म जवाफ पर्खंदै थिएँ। एकछिन घोत्लिएपछि मुस्कुराउँदै देवानले भने, ‘कहिलेकाहीँ त कवितै नलेखूँ जस्तो लाग्छ। तर लेख्न पो छोडिन्न त।’
यही प्रश्न धेरै कविहरूलाई गर्दा उनीहरूको जवाफ साझा हुन्छ, ‘कविता राष्ट्रको लागि लेख्छु।’ तर यो जवाफ देवानलाई भने वाहियात लाग्छ। कोही कसैले कविता अरुको लागि लेख्छ भन्नु भ्रम ठान्छन् उनी। ‘म हरेक कविताहरू केवल आफ्ना लागि लेख्छु। मलाई कविता लेख्दा रमाइलो लाग्छ,’ कविता लेखेर मात्र कवि नबनिने उनको अर्को तर्क छ, ‘यदि कुनै कविले राम्रो कविता लेख्छ तर समाजमा असल काम गर्न सक्दैन भने समाज उसको पछाडि लाग्दैन।’
सामाजिक उत्तरदायित्व बहन गर्ने व्यक्ति नै समाजको नायक हुने कुरामा उनी विश्वास राख्छन्।
उसोभए कविको पहिलो सर्त के हो त?
उनी जवाफमा बोल्छन्, ‘समाजप्रति उत्तरदायी हुनु कविको पहिलो सर्त हो।’
अनि कविता?
उनी निर्धक्क भन्छन्, ‘कविता त ऐच्छिक कुरा हो।’ त्यसैले पनि समाजमा जिम्मेवार बन्नका लागि देवान कविता लेख्दैनन्। जिम्मेवार बन्नकै लागि त उनीसँग आफ्नो व्यापार छ। पेसाप्रति प्रतिबद्ध भएर नै सामाजिक उत्तरदायित्व बहन गरिएको बताउँछन् उनी।
उसो त कवितामा पाठक खोज्न उनी पटक्कै रुचाउँदैनन्। देवान आफ्नो कवितामा कतै दुःख र कतै खुःसी मिसाउँछन्। आफ्नै भोगाइका अनुभूतिहरूलाई उनी कविता बनाउँछन्। 'जब कोही तिनैलाई अनुभूत गर्दै कविता पढ्छन् भने उसलाई त्यस कवितालाई छुने र प्रभावित गर्ने रहेछ,' उनको बुझाइ छ। कविताले पाठक नखोजे पनि पाठकले कविता खोज्ने कुरामा उनी विश्वस्त छन्।
देशमा ठूलाठूला राजनीतिक परिवर्तन हुँदा कविताले निकै भूमिका निर्वाह गरेको छ। तर परिवर्तनका बेला जुनजुन कविको भूमिका थियो, परिवर्तनपश्चात् तिनीहरू हराउँदै गएको उनको विश्लेषण छ।
थाहै नपाई छापिएको कविता
एक पटक नागरिक दैनिकमा आफ्नै कविता छापिएपछि देवान छक्क परे। ‘मैले दिँदै नदिएको कविता कसरी छापियो?’ उनी अचम्ममा परेँ। रहस्य त अर्कै रहेछ। उनले खुलाए।
कविता कतै सुनाउन र छपाउन पटक्कै नचाहने उनको स्वभाव छ। यदि कसैले मागिहाल्यो भने पनि 'छैन' भनेर टारिदिने। उनको यही स्वभावलाई नजिकबाट नियाल्ने इटहरीका कवि छन्, बद्री भिखारी। उनले एक दिन देवानका कविता सुटुक्क भाउजूसँग मागेछन्। भाउजूबाट कविता फुत्काएपछि थाहै नदिई पत्रिकामा दिएछन्। पछि प्रकाशन भयो। उक्त कविताको निकै चर्चा पनि भयो। ‘आफ्नै कविता अखबारमा देखेपछि अचम्मित भएँ,' त्यतिबेलाको किस्सा सम्झेर उनी मुस्कुराउँदै भन्छन्, ‘कविता कसले दियो भन्ने कुराको पोल त केही दिनपछि खुलिहाल्यो।’
कवितामा आफूलाई कसरी फरक पाउँछन् उनी?
‘म कवितामा नारा खोज्दिनँ, दर्शन खोज्छु।’ उनले भनेझैं कविताको दुनियाँमा आफूलाई फरक किसिमले उभ्याउन खोजिरहेका छन्। कवितामा नारा खोजिरहनेहरूको दुनियाँबाट आफूलाई बिलकुल जोगाएका छन् उनले। यो उनको कविताको वैशिष्ट्य पनि हो।
किन भनियो त वंशज कवि?
कवि जसराज किराँतीका छोरा हुन् देवान। बाबु र छोरा नै कविताकर्ममा उतिकै सक्रिय रहनुमा कसैलाई अनौठो लाग्न सक्छ। त्यसैले कतिले त देवानलाई वंशज कवि भनेर पनि जिस्काउने गर्छन्। कतिले बाबुको कविताको प्रभाव भनेर आरोप पनि लगाउने गर्छन्। यसरी आरोप लगाइरहँदा देवानको कवितामा भने बाबुको प्रभाव देखिन्न।
छोरो पनि कविता लेख्छ भन्ने बाबुलाई थाहा थिएन। अचम्म त, उनलाई पनि बाबु कवि हुन् भन्ने पत्तो थिएन।
२०५६ तिर देवान काठमाडौं बस्ने गर्थे। एकदिन गरिमामा एउटा कविता प्रकाशित भएछ। उनका बा जसराज किराँतीले गाउँमा कविता पढेछन्। नाम र फोटो हेर्दा आफ्नै छोरासँग मिल्दो। दसैंमा देवान घर जाँदा बाले पत्रिकामा भएको कविता देखाएर भनेछन्, ‘देवान किराँती भन्ने एउटा कवि रहेछ। राम्रो कविता लेख्दो रहेछ। फोटो पनि त सँग मिल्ने। तँ पनि पो कविता लेख्छस्?
उनले भनेछन्, ‘लेख्छु।’ देवानको जवाफले बा त अचम्ममा परेछन्। त्यतिबेला बाले के सोचे उनले ठम्याउन सकेनन्। तर आफूभने निकै उत्साहित भए।
देवानलाई बा कवि रहेछन् भन्ने कुरा पनि सहर आएपछि थाहा भयो। ‘सहरमा त बाको ठूलो नाम रहेछ। बाको किताब पनि प्रकाशित रहेछ,’ उनले त्यतिबेलाको दृश्यलाई सम्झनामा चित्रण गरिरहेका थिए।
कविता त बाले पनि लेख्थे। तर बाका कारण कवि भएको भन्ने कुरमा भने उनी सहमत छैनन्। यद्यपि कविको नजरले हेर्दा जसराज किराँतीका कविता देवानलाई राम्रा लाग्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।