काठमाडौं-दोश्रो दिनको लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पनि आन्तरिक किचलोले शुरू हुन सकेको छैन।
शुक्रबार बोलाइएको बैठकमा संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल बीच विधान मस्यौदा समितिमा विवाद भएपछि शनिबारको लागि बैठक सारिएको थियो।
शनिबार बिहान ११ बजे बोलाइएको बैठक दिउँसाे २ बजेसम्म शुरू हुन सकेको छैन। असारमा भएको जिल्ला सभापतिको भेलामा भएको निर्णय अनुसार मस्यौदा समितिमा जिल्ला सभापतिको पनि प्रतिनिधित्व हुनुपर्ने पौडेल पक्षको अडान छ। पूर्व सहमति विपरीत ११ सदस्यीय मस्यौदा समिति बनाइएको भन्दै पौडेल पक्षले आपत्ति जनाएको छ।
पहाड,तराई र हिमाल बाट एक/एक जिल्ला सभापति समावेश गर्नुपर्ने केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले बताए। उनले भने 'जिल्ला सभापति हरुको भेलामा भएको निर्णय लागू हुन पर्यो।'
महासमिति बैठकको मिति तय गर्न बोलाइएको बैठक मस्यौदा समितिमा केन्द्रित भएपछि मूल विषयमा प्रवेश नै हुन सकेको छैन। विवाद अन्त्य गर्नका लागि सभापति देउवाको कार्य कक्षमा शीर्ष नेताहरुको बैठक बसिरहेको छ।
बैठकले अनुशासन र कार्य सम्पादन समितिको गठन गर्ने जनाइएको छ। कांग्रेस विधान प्रावधानमा २२ सदस्यीय कार्य सम्पादन समिति हुने व्यवस्था छ। निर्वाचन पूर्व गठन भएको कार्य सम्पादन समितिमा विधान विपरित सदस्य सङ्ख्या बढाइएको भन्दै विरोध भएको थियो। संस्थापन इतर समुहले विघटनको माग गरेपछि वैशाखमा कार्य सम्पादन समिति खारेज गरिएको थियो।
पार्टी सभापतिले सम्पादन समिति २८ सदस्यीय बनाएका थिए। पुनः गठन हुन लागेको कार्य सम्पादन समितिमा पौडेल समुहले बहुमत सदस्य माग गरेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।